दिनभर नेपालमय बन्यो मेलबर्नको फेडरेसन स्क्वायर, प्रिमियरले गरिन् प्रशंसा

दिनभर नेपालमय बन्यो मेलबर्नको फेडरेसन स्क्वायर, प्रिमियरले गरिन् प्रशंसा

नेपाल फेष्टिभलको परेडमा सबैभन्दा बढी सहभागिताको रेकर्ड राख्दै सकियो नेपाल फेष्टिभल मेलबर्न



मेलबर्न, अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ अष्ट्रेलिया भिक्टोरिया राज्य संयोजन समितिको आयोजनामा भएको नेपाल फेष्टिभल मेलबर्न सांस्कृतिक परेडमा सहभागिताका हिसाबले अष्ट्रेलियामै सबैभन्दा बढी १ हजारभन्दा बढी सहभागिताको नयाँ रेकर्ड राख्दै सम्पन्न भएको छ । यससँगै पहिलो पटक भिक्टोरिया राज्यकी प्रिमियर जसिन्टा एलान सहभागी भएपछि यस पटकको नेपाल फेष्टिभल विशेष बन्न पुगेको छ ।


विहान साढे १० बजे स्टेट लाईब्रेरीबाट सुरु भएको सांस्कृतिक परेडमा सहभागी हुन नेपालीहरु बलाराट र बेन्डिगोदेखि आएका थिए । उनीहरुको सहजताका लागि बसको पनि व्यवस्था एनआरएनले गरेको थियो । करिब डेढ किलोमिटर लामो परेडमा विभिन्न संघसंस्थाले आफ्नैखाले प्रस्तुतिका साथ उपस्थिति जनाएका थिए भने स्वतस्फुर्त रुपमा दौरा सुरुवाल र टोपी, साडी र चोलोमा परम्परागत गहना लगाएर नेपालीहरु सहभागी भए ।
एनआरएन भिक्टोरियाका उपसंयोजक महादेव धानुकले परेडमा स्थानीयवासीको सहभागितालाई अष्ट्रेलियनहरुले नजिकबाट चासोपूर्वक हेरेको बताए । उनले अहिलेसम्मकै सबैभन्दा ठूलो कल्चरल परेड भएकोमा आफुहरुलाई अन्य राज्यबाट आएका अतिथिहरुले प्रशंसा गरेको बताए ।


यस्तो भयो औपचारिक कार्यक्रम


परेड सक्नेवित्तिकै सांकृतिक झाँकी स्टेजमा प्रस्तुत गरिएको थियो । यसपछि सुरु भएको नेपाल फेष्टिभलको रौनक विभिन्न भाषा विद्यालय लगायतहरुबाट सहभागी हुन आएका बालबालिकाको प्रस्तुतिमा जमेको थियो । १ सय ३० जनाभन्दा बढी बालबालिकाले नेपाल फेष्टिभलमा आफ्नो प्रस्तुति दिएका थिए ।
करिब साढे ४ बजेबाट सुरु भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा भिक्टोरिया राज्यकी प्रिमियर जसिन्टा एलान सहभागी भइन् । मेलबर्नको नेपाल फेष्टिभलमा प्रिमियर आफैं सहभागी भएको यो पहिलो पटक हो । यसले उनलाई पनि रोमाञ्चित तुल्याएको प्रिमियर एलानले आफ्नो सम्बोधनको क्रममा बताइन् । नेपाली समूदायले भिक्टोरियाको उन्नतिमा खेलेको भूमिकाको प्रशंसा गर्दै प्रिमियर एलानले यो योगदानको कदर गर्दै अघि बढ्ने प्रतिबद्धता जनाइन् ।
कार्यक्रममा एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले अष्ट्रेलियाको अर्थतन्त्रमा नेपाली समूदायको योगदान करोडौं डलरमा भएपनि त्यस अनुसार समूदायले कदर नपाएको बताएका थिए । उनले हालसम्म एनआरएन अष्ट्रेलियाले गरेका कामहरुको चर्चा गर्दै मेलबर्नमा भव्य नेपाल फेष्टिभल गर्नका लागि हातेमालो गर्ने सबै संघसंस्थालाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा बोल्दै अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले यो भव्य कार्यक्रमका लागि एनआरएन अष्ट्रेलिया धन्यवादको पात्र भएको बताइन् । उनले उपस्थित सबैलाइ नेपाली भाषा, गीत सगीत, कला र आफ्नो संस्कृति दोश्रो पुस्तामा हस्तान्तरण गर्दै जान अनुरोध गरिन् । अष्ट्रेलियाले बहुसंस्कृति अंगालेको धेरै नभएपनि विभिन्न भाषाभाषी, जात जाति र देशका मानिसहरु मिलेर बसेको देख्दा नेपालको हिमाल, पहाड र तराईको याद आएको बताइन् । उनले संस्कृत श्लोकमार्फत सम्पूर्ण जगतको शान्तिको कामना गरिन् ।

कार्यक्रममा बोल्ने अन्य अष्ट्रेलियन अतिथिहरु संघीय सांसद पिटर खलिल, विपक्षी दलका उपनेता शाम ग्रोथ, मिनिष्टर फर करेक्सन एण्ड जस्टिस ईन्भर एड्रोगान, भिक्टोरियन लेजिस्लेटिभ काउन्सिल सदस्य ईभान मुल्होलान्ड, सांसद क्याथलिन म्याथ्यु, भिक्टोरियन मल्टिकल्चरल कमिशनका उपाध्यक्ष बे थाई, मेलबर्न सिटी काउन्सिलका काउन्सिलर मार्क स्कट लगायतले नेपाली समूदाय मेहनति, परिआएको बेला अरुलाई सहयोग गर्ने छविका साथ भिक्टोरियाको महत्वपूर्ण हिस्सा बनेको बताएका थिए ।

कार्यक्रममा भिक्टोरियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत निराजन गौली, एनआरएन आईसीसीका उपाध्यक्ष विनोद श्रेष्ठ र ओसेनिया क्षेत्रीय संयोजक दिनेश पोखरेलले पनि आफ्नो धारणा राखेका थिए । कार्यक्रममा भिक्टोरियाका संयोजक मणिरत्न सापकोटाले स्वागत गरेका थिए भने एनआरएन अष्ट्रेलियाका महासचिव सन्तोष कुँवर र एनआरएन भिक्टोरियाका सचिव सशेन्द्र गौतम केसीले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गरेका थिए ।


त्यस लगत्तै गायिका समिक्षा अधिकारी, गायक शिव परियार र विवेक श्रेष्ठ कन्दरा व्याण्डले उपस्थित दर्शकहरुलाई राति ९ बजेसम्म मनोरञ्जन प्रदान गरेका थिए ।