मेलबर्नको मुटु फेडरेसन स्क्वायर आज नेपालमय बन्दै, नेपाल फेष्टिभलमा भिक्टोरियाकी प्रिमियर आउने

मेलबर्नको मुटु फेडरेसन स्क्वायर आज नेपालमय बन्दै, नेपाल फेष्टिभलमा भिक्टोरियाकी प्रिमियर आउने


मेलबर्न, अष्ट्रेलिया ।
अष्ट्रेलियाको भिक्टोरिया राज्यमा हरेक दुई वर्षमा आयोजना हुने गरेको नेपाल फेष्टिभल आज आयोजना हुँदैछ । विहान १० बजेदेखि राति १० बजेसम्म चल्ने नेपाल फेष्टिभल स्थानीय फेडरेसन स्क्वायरमा आयोजना हुन लागेको हो । मेलबर्नको केन्द्रभाग मानिने फेडरेसन स्क्वायरमा नेपाली झण्डा फहराइएको छ भने यहाँकी प्रिमियर जसिन्टा एलान अतिथिको रुपमा सहभागी हुँदैछिन् । राज्यको प्रिमियर नेपाल फेष्टिभलमा अतिथिको रुपमा सहभागी भएको यो पहिलो पटक हो ।

यस्तै नेपाल फेष्टिभलमा सहभागिताका लागि अष्ट्रेलियाका विभिन्न राज्यबाट अतिथिहरु मेलबर्न आइपुगेका छन् । कार्यक्रमस्थलमा नेपाली खाना, नेपाली गीत, संगीतका साथै नेपाली मूलका व्यक्तिहरुले सञ्चालन गरेका विभिन्न व्यापार व्यवसायका स्टलहरु राखिएको छ । शिक्षा सेवा प्रदायक सस्थाहरु, बैंक, रेष्टुरेन्ट, रियलस्टेट कम्पनीहरु लगायतका स्टल नेपाल फेष्टिभलमा देखिनेछ । नेपाल फेष्टिभललाई लक्षित गरेर व्यवसायीहरुले विभिन्न कार्यक्रम पनि आयोजना गर्दैछन् । नेपाल फेष्टिभलमा सहभागी भएकाहरुलाई लक्की ड्रमार्फत पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

नेपाल फेष्टिभलमा २० हजारभन्दा बढी दर्शक आउने अपेक्षा छ । दिनभर नेपाली दोश्रो पुस्ताका बालबालिकाहरुले आफ्नो प्रस्तुति दिनेछन् भने साँझ कन्दरा व्याण्डले ९ वर्षपछि नेपाल फेष्टिभलमा आफ्नो प्रस्तुत दिँदैछ । यस्तै गायिका समिक्षा अधिकारी, गायक शिव परियारले पनि दर्शकलाई आफ्ना गीतमा झुमाउने योजना छ । एनआरएन भिक्टोरियाका सचिव ससेन्द्र गौतम केसीले सम्पूर्ण तयारी पूरा भइसकेको र सुरक्षा व्यवस्था चुस्त पारिएको जानकारी दिए । कार्यक्रमस्थलमा शुक्रबारदेखि नै व्यवसायिक स्टलहरु निर्माण कार्य गरिएको थियो ।