नयाँ संविधानसँग अनुकूल हुने गरी बनाइएको विद्यालय शिक्षा विधेयक पारित गर्न अनुचित ढिलाइ भएको भन्दै शिक्षकहरूको छाता सङ्गठन नेपाल शिक्षक महासङ्घले पठनपाठन ठप्प पार्ने सहितको आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।
“दश वर्ष त संविधान आएकै भइसक्यो। डेढ वर्ष यो विधेयक संसद्मा पुगेको नै भइसक्यो। अझै पनि पारित गर्न भइरहेको ढिलाइले हामी असन्तुष्ट भएका हौँ,” महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बीबीसीलाई बताएका छन्।
उक्त विधेयक अहिले प्रतिनिधिसभाको शिक्षासम्बन्धी समितिमा विचाराधीन छ । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा चैत ७ गतेदेखि सुरु भएर १९ गते सकिँदै छ। एसईईमा झन्डै पाँच लाख विद्यार्थीहरू सहभागी हुन लागेका छन्। हामीले सोमवार आन्दोलनको दोस्रो चरणको घोषणा गर्यौँ जुन मङ्गलवारबाटै सुरु भइसकेको छ। आजबाट हामी पार्टी कार्यालयहरूमा साङ्केतिक धर्ना गर्छौँ र त्यसपछि रिले अनशन गर्छौँ,” सुवेदीले भने।
चैत १५ गतेसम्म रिले अनशनको कार्यक्रम राखेको महासङ्घले त्यसपछि देशभरिका शिक्षक तथा कर्मचारीलाई काठमाण्डू आउन आह्वान गरेको छ। “चैत २० गतेबाट ऐन जारी नभएसम्म अनिश्चितकालीन सडक आन्दोलनको घोषणा गरेका छौँ,” उनले भने।
प्रतिक्रिया