यति फुटबल क्लब कँडेल कपको १४ औं संस्करण उपाधि रक्षा गर्न सफल

यति फुटबल क्लब कँडेल कपको १४ औं संस्करण उपाधि रक्षा गर्न सफल

पहिलो पटक अष्ट्रेलियामा भएको खेलको नेपाली टेलिभिजनबाट प्रत्यक्ष प्रशारण


मेलबर्न, अष्ट्रेलिया । यति एफसी फुटबल क्लबले १४ र्आंं संस्करणको कँडेल कन्सल्टेन्सी कपको उपाधी उचालेको छ । यसअघिको विजेता यति क्लबले आफ्नो उपाधि रक्षा गर्न सफल भयो । फाईनलमा रोयल वेष्टर्न क्लबलाई तीन दुइ गोल अन्तरले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो ।
अष्टेलियाको मेलबर्न स्थित डेराविन स्पोर्टस सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामागंले गोल गरे । आकाश बुढामगर र रवि थिगंले रोयलका लागि गोल फर्काए पनि जित संभव भएन । प्लेयर अफ दि फाइनल समेत बनेका गोलरक्षक एलन न्यौपानेले उत्कृष्ट प्रदर्शन गरेका थिए । ट्रफी सहित यति एफसीले १२ हजार डलर जितेको छ । उपविजेता रोयलले ४ हजार ५ सय डलरमा चित्त बुझायो ।

यस्तै ३५ वर्ष माथिको प्रतियोगिको फाइनला यतिले नै बाजी मार्याे । यतिले मकआर्थर नेप्लीज क्लबलाई चार तीन अन्तरले हराएको हो । यतिका लागि सागर थापा , जुमानु राई , पंकज लामिछाने र युकेश श्रेष्ठले गोल गरे । युकेश प्लेयर अफ दि फाइनल बने । पराजित टिमका लागि अनिल गुरुगंले दुई तथा राजेशले एक गोल फर्काए । विजेता यतिले २ हजार ५ सय र उपविजेताले १ हजार डलर प्राप्त गरेको छ ।

उपाधिको ब्यक्तिगत विधातर्फ आयोजक टिमकै खेलाडीको बर्चस्व रहयो । यति एफसीका सुमन लामा सर्वोत्कृष्ट खेलाडी घोषित भए । यतीकै एलन न्यौपाने उत्कृष्ट गोलरक्षक र आशिष लामा सर्वाधिक गोलकर्ता बने । उनले ६ खेलमा १० गोल गरे । ३५ बर्ष माथि सागर थापा र अनिल गुरुगंले सर्वाधिक गोलकर्ताको पुरस्कार जिते । सागर प्रतियोगिताकै उत्कृष्ट घोषित हुँदा यतिकै कवुस आमात्य उत्कृष्ट गोलरक्षक बने । उनीहरु सबैले २ सय डलर हात पारे ।

कार्यक्रममा भिक्टोरियन मल्टिकल्चरल कमिशनकी आयुक्त भिभिन न्यूगिन, भिक्टोरियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत निराजन गौली, समूदायका अगुवा जोग लिम्बु, अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसनका संरक्षक चिरञ्जीवी देवकोटा, एनआरएन भिक्टोरियाका उपसंयोजक महादेव धानुक, मुख्य प्रायोजक कँडेल कन्सल्टेन्सीका सञ्चालक राज कँडेल, बुद्ध ट्राभल्सका भीम न्यौपाने, सफायर रियल स्टेटका सविन थापा लगायतले संयुक्त रुपमा विजेताहरुलाई मेडल, पुरस्कार र प्रमाणपत्र हस्तान्तरण गरेका थिए । उक्त अवसरमा बोल्दै वाणिज्यदूत गौलीले केही समयभित्रै ग्लेनरोयमा रहेको एउटा खेलमैदान नेपाली क्लबको स्वामित्वअन्तर्गत आउन लागेको जानकारी गराएका थिए ।

यस पटकको कँडेल कन्सल्टेन्सी कपको विभिन्न अनलाईन माध्यमका साथै नेपालमा काष्ठमण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रशारण समेत गरिएको थियो । अष्ट्रेलियामा आयोजना गरिएको कुनैपनि प्रतियोगिता नेपालको टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको यो पहिलो पटक हो ।