अष्ट्रेलियाको क्वीन्सल्याण्डको तटीय क्षेत्रमा केही समयपछि चक्रवात अल्फ्रेड प्रवेश गर्दैछ । यसबीचमा सरकारले तटीय क्षेत्रमा नजान आदेश जारी गरेपछि केही व्यक्तिहरु त्यहाँ फोटो खिच्न र भिडियो बनाउन पुगिरहेको सामाजिक सञ्जालमा भेटिएपछि अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । गोल्ड कोष्टका समुन्द्री तटहरु सर्वसाधारणका लागि बन्द गरिएको छ । सरकारी अधिकारीहरुले यी ठाउँबाट टाढै रहन चेतावनी जारी गरेका छन् । गोल्ड कोष्ट शहरमा यतिबेला आपतकाल घोषित गरिएको छ । जसको अर्थ प्रहरीहरुलाई थप अधिकार दिइएको छ ।
मानिसहरु समुन्द्रमा पौडी खेल्न गए, सर्फ गरेको भेटिए प्रहरीले जरिवाना गर्न सक्नेछन् । यस्तो जरिवाना अधिकतम १६ हजार डलरसम्म हुनसक्नेछ । समन्द्रमा फिंज देखिएपछि अहिले सर्वसाधारणहरु त्यहाँ फोटो खिचाउन तछाडमछाड गरिरहेका भेटिएका छन् । समन्द्री तटका पार्किंगहरु भरिएका छन् । अझ अल्फ्रेड चक्रवात आउने समय केही ढिलाई भएर शनिबार विहान मात्रै तटीय क्षेत्रमा प्रवेश गर्ने भएपछि यो क्रम बढेको पाइएको हो ।
गोल्डकोष्टकी कार्यवाहक मेयर डोना गेटीसले समन्द्रबाट टाढा रहन आग्रह गरेकी छिन् । उनले यस्तो बेलामा पनि लापर्वाही गर्नेहरुलाई मूर्खता नगर्न भनेकी छिन् ।
प्रतिक्रिया