न्यूसाउथवेल्स, अष्ट्रेलिया ।
अष्ट्रेलियाका दुई राज्य क्वीन्सल्याण्ड र न्यूसाउथवेल्सका समुन्द्री तटीय क्षेत्रहरुमा अल्फ्रेड चक्रवात केही समयपछि आइपुग्ने निश्चित भएको छ । आज विहान मौसमविद्हरुले अल्फ्रेड चक्रवातलाई समुन्द्री तटभन्दा ४ सय ३० किलोमिटर पर भएको पत्ता लगाएका थिए । यससँगै गोल्डकोष्टको विमानस्थल आज अपरान्ह ४ बजेबाट बन्द गर्ने निर्णय गरिएको छ । यस निर्णयबाट प्रभावित यात्रुहरुलाई विमान कम्पनीले सम्पर्क गर्ने जनाइएको छ ।
चक्रवातका कारण १ सय २० किलोमिटरभन्दा बढीको गतिमा हुरी आउनेछ भने घनघोर वर्षाको सम्भावना छ । विभिन्न तटीय क्षेत्रहरुमा रहेका बासिन्दाहरुलाई तत्कालै आफ्नो क्षेत्र छोड्न अनुरोध गरिसकिएको छ । यस्तै सरकारले विभिन्न ठाउँमा १२ वटा उद्धार कक्षहरु स्थापना गरेको जनाएको छ । चक्रवात अल्फ्रेड शुक्रबार विहान तटीय क्षेत्रमा आइपुग्ने अनुमान छ । मुख्यत क्वीन्सल्याण्डको सनसाईन कोष्ट र गोल्ड कोष्टबाट चक्रवात प्रवेश गर्ने अनुमान छ । चक्रवातको पूर्वसूचनाका कारण सय भन्दा बढी विद्यालयहरु बन्द गराइएको छ ।
यसैबीच न्यूसाउथवेल्सका प्रिमियर क्रिस मिन्सले सर्वसाधारणलाई खाद्यान्न अभाव हुने त्रासमा परी आवश्यकताभन्दा बढी सामान खरिद नगर्न धैर्य धारण गर्न आग्रह गरेका छन् । उनले पर्याप्त खाद्यान्न रहेको र आपतका बेला पनि निरन्तर वितरण प्रणाली सुनिश्चित गरिएको जनाएका हुन् ।
उता क्वीन्सल्याण्डका प्रिमियर डेभिड क्रिसाफुलीले सुरक्षित रहन आह्वान गरेका छन् । क्वीन्सल्याण्डमा मात्रै २६ हजार व्यक्तिहरुलाई बिहीबार सुरक्षित स्थानमा रहनका लागि आफ्नो घर छोड्न भनिएको छ ।
अल्फ्रेड चक्रवातका कारण हुने वर्षाले तल्लो तटीय क्षेत्रमा बाढी आउने र डुबान गराउनसक्नेछ ।
प्रतिक्रिया