तास्मानियाका नेपालीको मुद्दाबारे विपक्षी लेबर पार्टीका सांसदहरुसँग एनआरएनको छलफल

तास्मानियाका नेपालीको मुद्दाबारे विपक्षी लेबर पार्टीका सांसदहरुसँग एनआरएनको छलफल

दिए नेपाल फेष्टिभलमा सहभागी हुने निम्तो


होबार्ट, तास्मानिया ।
एनआरएन तास्मानियाको प्रतिनिधि मण्डलले यहाँको विपक्षी दल लेबर पार्टीको संसदीय दलको कार्यालयमा नेपाली समूदायका मुद्दाका विषयमा छलफल सम्पन्न गरेको छ । शुक्रबार विपक्षी एवं सांसद नेता डीन विन्टर, सांसद एला हद्दाद तथा अन्य नेतागणसँग भेट गरेको हो ।

छलफलका क्रममा नेपाली समूदायले तास्मानियामा दिएको आर्थिक, सामाजिक र सांस्कृतिक योगदानको चर्चा भएको थियो । नेपालीको योगदानलाई सरकारी रुपमा स्वीकार गर्न पहल गर्ने, नेपाली व्यवसायी तथा समूदायका सदस्यहरुले भोग्नुपरेको विभेदलाई कम गर्न नीति निर्माणमा ध्यानाकर्षण, रोजगारी, शिक्षा, स्वास्थय लगायतका क्षेत्रमा समान अवसरको पहल, नेपाली भाषा, संसकृति र परम्परालाई जगेर्ना गर्न सामूदायिक केन्द्र निर्माणको योजना, स्थानीय सरकारले बनाउने नीतिनिर्माणमा नेपाली समूदायको पनि प्रतिनिधित्व हुनुपर्ने लगायतका विषयमा चर्चा भएको थियो ।

नेपाली प्रतिनिधि मण्डलले उठाएका यी विषयमा लेबर पार्टीका सांसदहरुले सकारात्मक जवाफ दिँदै सहकार्यको माध्यमबाट अघि बढ्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिनिधि मण्डलमा एनआरएन तास्मानियाका उपसंयोजक उत्तम अधिकारी, राष्ट्रिय युवा फोरमका कोषाध्यक्ष असिम घिमिरे, नेपाल फेष्टिभल तास्मानियाका सांस्कृतिक संयोजक विष्णु थपलिया, नारी निकुञ्जकी प्रतिनिधि क्रिष्टिना प्रधान लगायतको सहभागिता थियो ।

विपक्षी नेतासहित लेबर पार्टीका प्रतिनिधि र सांसदहरुलाई नेपाल फेष्टिभलमा सहभागी हुनका लागि औपचारिक निमन्त्रणा पनि सोही अवसरमा हस्तान्तरण गरिएको थियो ।