तास्मानियामा होली महोत्सव हुँदै

तास्मानियामा होली महोत्सव हुँदै


तास्मानिया ।

नेपाली सोसाइटी अफ तास्मानिया (नेस्ट)ले यस वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात् होलीमा होली महोत्सवको आयोजना गरेको छ। मार्च ८ तारिख शनिवारका दिन तस्मानियाको ग्लेनोर्कीस्थित टोलोसा पार्कमा नेस्टले होली महोत्सव “ह्याप्पी होली” कार्यक्रमको आयोजना गरेको हो। 

बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म चल्ने उक्त कार्यक्रममा विविध सांस्कृतिक गतिविधि, परम्परागत रंग खेल, संगीत, नृत्य तथा मनोरञ्जनात्मक खेलहरू खेलिने नेस्टले जनाएको छ। नेपाली तथा अन्य बहसांस्कृतिक समुदायलाई लक्षित गरी आयोजना गरिएको उक्त होली महोत्सवमा स्थानीय सामुदायिक अगुवाहरू, नगरप्रमुखहरू तथा आम सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहने आयोजकले अपेक्षा राखेको छ। 

कार्यक्रमको मुख्य आकर्षणहरूमा धिमे बाजा, नेवारी सांगीतिक प्रस्तुति, ब्याण्ड प्रदर्शन, तथा चर्चित गायक जय दाइको प्रस्तुति रहने छ। नेपाली पाठशालाका विद्यार्थीहरूले राष्ट्रिय गान प्रस्तुत गर्नेछन् । कार्यक्रमको संचालन निरञ्जन भण्डारीले गर्नेछन्। कार्यक्रममा मट्का फोड तथा टग अफ वार जस्ता खेलहरू पनि खेलाइने नेस्टले जनाएको छ।

होली महोत्सवलाई थप आकर्षक बनाउन ओम फुड एण्ड पान हाउसद्वारा विशेष परिकार तथा विभिन्न स्वादका पान उपलब्ध गराउने छ। कार्यक्रममा सहभागीहरूलाई सेतो पोसाक लगाएर आउन पनि नेष्टले जनाएको छ।

संस्कृतिको यो अनुपम उत्सवमा सहभागी भई एकता, मित्रता र खुसीयालीको सन्देश फैलाउन तास्मानियावासी नेपालीभाषीलाई नेस्टका अध्यक्ष रोजिना ताम्रकारले आग्रह गरेकी छन्।

कार्यक्रम प्रवेश गोल्ड क्वाइन डोनेसन मार्फत हुने व्यवस्था गरिएको छ।