मेलबर्न, अष्ट्रेलिया ।
अष्ट्रेलियाको भिक्टोरिया राज्यमा स्थापित अष्ट्रेलियन नेप्लीजन मल्टिकल्चरल सेन्टरको नयाँ नेतृत्वले कार्यभार ग्रहण गरेको छ । नयाँ अध्यक्ष डा. तिलक पोखरेलले पूर्वअध्यक्ष गान्धी भट्टराईबाट आईतबार आयोजना गरिएको साधारणसभामा कार्यभार प्राप्त गरेका हुन् । बहुसांस्कृतिक केन्द्रको परिसरमै आयोजना गरिएको साधारणसभा हाईब्रिड माध्यमबाट गरिएको थियो ।
साधारणसभामा अध्यक्ष र कोषाध्यक्षको प्रतिवेदन हलले पारित गरेको थियो । साथै अधिवेसनले अबदेखि केन्द्रको अध्यक्ष पदका लागि उम्मेद्वारी दिन कम्तिमा पनि एक कार्यकाल कार्यसमितिमा काम गरेको हुनुपर्ने, ४ जना सदस्यहरुलाई मनोनित गर्न सकिने लगायतका निर्णय गरेको थियो । अधिवेशनमा पूर्वअध्यक्षहरु चन्द्रदिपक पोखरेल, राजेश आचार्य पनि सहभागी भएका थिए ।
अधिवेशनमा अध्यक्ष डा. तिलक पोखरेलले अहिले चलिरहेको निर्माण कार्यलाई पूर्णता दिने, हल निर्माणलाई सुरुवात गर्ने, संस्थामा पारदर्शीता ल्याउने, सरकारी निकायहरुसँगको सहकार्यलाई अघि बढाउने र गुरुयोजनालाई सफल तुल्याउन त्यसतर्फ अघि बढ्ने प्रतिबद्धता जनाएका थिए । उनले यी सबै कार्यहरुमा समूदायसँगको परामर्श र उनीहरुको मार्गदर्शनमा अघि बढ्ने पनि बताएका थिए ।
पोखरेलको नेतृत्वको कार्यसमितिमा केशव कँडेल, प्रभा श्रेष्ठ उपाध्यक्ष छन् भने सुधीर शाक्य सचिव छन् । यस्तै सहसचिवमा दिपक आचार्य, कोषाध्यक्षमा अर्जुन ढकाल, सहकोषाध्यक्षमा मनिषा अर्याल चयन भएका छन् । कार्यसमिति सदस्यहरुमा ईभान सुवेदी, पर्शुराम शर्मा, प्रेम कँडेल, प्रिन्स भण्डारी, रुवि थापामगर र सविता अधिकारी चयन भएका छन् । साधारण सभामा कार्यकाल सकाएका अध्यक्ष गान्धी भट्टराईलाई अध्यक्ष पोखरेलले मायाको चिनो प्रदान गर्दै हालसम्म गरेको नेतृत्वको लागि धन्यवाद दिएका थिए । उक्त अवसरमा पूर्वअध्यक्ष डा. चन्द्रदिपक पोखरेलले लुम्बिनीको माटो वर्तमान अध्यक्ष डा. तिलक पोखरेललाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया