यो पुरस्कार मेरो मात्र होइन, सबै क्रियाशील पत्रकारहरुको हो : सरल गुरुङ

यो पुरस्कार मेरो मात्र होइन, सबै क्रियाशील पत्रकारहरुको हो : सरल गुरुङ


मेलबर्न, अष्ट्रेलिया ।
टीका कार्की स्मृति सक्रिय पत्रकारिता पुरस्कार २०२५ सरल गुरुङले प्राप्त गरेका छन् । एक विशेष समारोहकाबीच क्यानबेरामा आयोजना गरिएको अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसनको साधारणसभापछि आयोजित कार्यक्रममा नेपाल ट्युव अष्ट्रेलियाका संस्थापक तथा सम्पादक उनलाई एक हजार डलर राशीको पुरस्कारसहित एवार्ड र प्रमाणपत्र हस्तान्तरण गरियो । अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव, अष्ट्रेलियाका संघीय सांसद डेभिड स्मिथले संयुक्त रुपमा हस्तान्तरण गरे । बधाई दिँदै राजदूत यादवले सामूदायिक पत्रकारिताको यो अभियानलाई नयाँ उचाईमा लैजाने सफलता मिलोस् भन्ने कामना गरिन् । यस वर्षको क्रियाशील पत्रकारिता पुरस्कार विजेता छनोटका लागि अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसनका अध्यक्ष चिरञ्जीवी देवकोटा, समूदायकी अगुवा प्रतिज्ञा अधिकारी र एनआरएन अष्ट्रेलियाका पूर्वअध्यक्ष एवं संस्थाका कानूनी सल्लाहकार टोनु घोताने सम्मिलित छनोट समिति बनाइएको थियो ।

समितिको तर्फबाट कार्यक्रममा बोल्दै अधिकारीले वास्तवमै सबै पत्रकारले क्रियाशील रुपमा काम गरेको भएपनि समाजमा दिएको योगदान, पत्रकारितामा क्रियाशीलता, पत्रकारिताको एक्युरेसी, व्यालेन्स र क्रेडिविलिटीलाई आधार बनाएर विभिन्न चरणमा छनोटको प्रक्रिया पूरा गरिएको जानकारी दिएकी थिइन् । छनोट समितिमा क्रियाशील पत्रकारहरुको संस्थाको अध्यक्ष नै रहेपछि वर्षभरी गरेका कामहरुको प्रष्ट तस्वीर आएको र प्रवासमा सामूदायिक पत्रकारितामा लाग्नका लागि उत्प्रेरणा पनि एउटा आधारको रुपमा राखिएको छनोट समितिका अर्का सदस्य एवं वकिल टोनु घोतानेले जानकारी दिए ।

यसो भन्छन् सरल

यो मैले पाएको पुरस्कार भन्दा पनि हामीले पाएको पुरस्कार जस्तो लाग्छ मलाई । अष्ट्रेलियामा मैले पत्रकारिता सुरु गर्दाखेरी अग्रज पत्रकार दाई दिदीहरु हुनुहुन्थ्यो । उहाँहरुको प्रेरणाले पनि पत्रकारिता गरेर अघि बढ्न सकिन्छ भन्ने लागेको हो । यहाँ रहेका व्यवसायिक संघसंस्थाहरुको सहकार्यले गर्दा पनि अष्ट्रेलियाका हरेक कुना कुनामा, विश्वका विभिन्न देशहरुमा पनि पुगेर सर्वसाधारणको कथा भन्न पाइएको छ ।

मैले पुरस्कारको अपेक्षा गरेको थिइनँ । मैले त्यस्तो खत्रा काम केही गरेको जस्तो लाग्दैन । मैले सानो बेलादेखि नै पत्रकारिता गरें, दुईटा टेलिभिजनमा काम गरें, रेडियोमा पनि काम गरें । म गाली र तालीमा त्यतिधेरै विश्वास गर्दिनँ । मैले नै पाउनुपर्छ, मैले पाउँछु भन्ने केही थाहा थिएन । मैले डे टु डे स्कील नै समाजलाई दिएको हुँ जस्तो लाग्छ ।

यसको छनोट समितिमा तीन जना हुनुहुन्थ्यो । अध्यक्षज्यू जसले हामी ३०, ३५ जना पत्रकार सबैको काम नजिकबाट हेर्नुभएको थियो, त्यस्तै महिला सदस्यहरु पनि हुनुहुन्थ्यो । समूदायका अगुवाहरु हुनुहुन्थ्यो । उहाँहरुको आँखाबाट मेरो मूल्यांकन हुँदा खुशी लागेको छ । मैले दावी गरेर “मैले पुरस्कार पाउनुपर्छ” भन्नुभन्दा छुट्टै बसेर यसरी मूल्यांकन गरिदिँदा प्रेरणा दिएको छ । म पनि सरप्राईज्ड भएँ । शायद म लक्की भएँ होला केही लाख बढीले मेरो हेरेको होला, केही लाख बढीले पछ्यायो होला । म भन्दा बढी मेहनत गर्ने, मभन्दा बढी काम गर्ने अर्को कोही साथी पनि होला तर मैले नै पाउँछु भन्ने आशा पनि थिएन । तर मलाई त्यसको लायक सम्झिदिनुभएकोमा धेरै धेरै धन्यवाद । यो बेला म स्व. टीका कार्कीलाई सम्झन चाहन्छु जसले रेडियोको मार्फतबाट समूदायलाई सदैव सेवा गर्नुभयो ।

स्व. टीका कार्की जसको स्मृतिमा अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसनले यो पुरस्कार स्थापना गरेको हो । अष्ट्रेलियामा क्रियाशील पत्रकारमध्ये मूल्यांकनका आधारमा हरेक दुई वर्षमा यो पुरस्कार प्रदान गरिन्छ ।