क्यानबेरा, अष्ट्रेलिया ।
अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसनको अधिवेशन क्यानबेरामा सुरु भएको छ । शुक्रबारबाट सुरु भएको अधिवेशन आज सम्पन्न हुनेछ । यस अधिवेशनले आगामी २ वर्षका लागि नेतृत्व चयन गर्ने संस्थाका अध्यक्ष चिरञ्जीवी देवकोटाले जानकारी दिए । उनका अनुसार शनिबार विहान १० बजेदेखि ४ बजेसम्म बन्द सत्र हुनेछ भने त्यस लगत्तै ६ बजेबाट समूदायका अगुवाहरु,सहितको उपस्थितिमा घोषणा गरिनेछ । यस्तै एन्जाले विगत दुई वर्षमा पत्रकारितामा सक्रिय रहेकाहरुमध्येबाट एक जनालाई टीका कार्की स्मृति सक्रिय पत्रकारिता पुरस्कार समेत प्रदान गर्नेछ ।
अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवको प्रमुख आतिथ्यमा सम्पन्न हुने कार्यक्रममा एनआरएन अष्ट्रेलियासहित विभिन्न नेपाली सामूदायिक संघ संस्थाका पदाधिकारीहरु सहभागी हुनेछन् ।

यसअघि शुक्रबार राजधानी क्यानबेरा पुगेका पत्रकारहरुलाई राजदूत यादवले स्वागत गरेकी छिन् । दूतावासका कर्मचारी र राजदूतले क्यानबेरा पुगेका पत्रकारहरुको सम्मानमा दिवा भोजको आयोजना गरेका थिए । उक्त अवसरमा बोल्दै राजदूत यादवले अष्ट्रेलियामा लामो समयदेखि क्रियाशील पत्रकारहरुसँग आफुले धेरै सिक्न चाहेको धारणा राखिन् । उनले सबैको ध्यान कसरी समूदायको सेवा गर्न सकिन्छ भन्ने रहेको बताउँदै यसका लागि छलफल गरी अघि बढ्न दूतावास तयार रहेको धारणा राखिन् ।
अध्यक्ष चिरञ्जीवी देवकोटाले यो न्यानो स्वागतका लागि धन्यवाद दिएका थिए भने करिब अढाई लाख नेपालीलाई अष्ट्रेलियाको ३ करोड जनसंख्यासँग जोड्ने माध्यम बन्ने आफुहरुको प्रयास रहेको बताएका थिए । उनले समूदाय बढेसँगै बढेका चुनौतीहरुलाई दूतावास, नेपाली सामूदायिक संघसंस्थाहरु र पत्रकार एकसाथ लागेर समाधान गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया