मेलबर्न, अष्ट्रेलिया ।
अष्ट्रेलियाको मेलबर्नमा आगामी मार्च १५ तारिख हुन लागेको नेपाल फेष्टिभलमा चर्चित व्याण्ड कन्दरा, गायिका समिक्षा अधिकारीसँगै शिव परियारले पनि दर्शकहरुलाई मनोरञ्जन दिने भएका छन् । एनआरएन भिक्टोरियाका संयोजक मणिरत्न सापकोटाले गायक शिव परियारले समेत महोत्सवको रौनक बढाउने जानकारी दिए । सापकोटाका अनुसार नेपाली सांगीतिक आकाशमा छुट्टै पहिचान बनाउन सफल परियारले दर्शकलाई नचाउने अपेक्षा छ । उनले भने, “विवेक श्रेष्ठ र कन्दरा व्याण्ड, समिक्षा अधिकारीसँगै शिव परियारले पनि हाम्रो यो उत्सवलाई रौनक थप्नुहुनेछ ।”
चार सातामात्रै बाँकी रहँदा मेलबर्नमा नेपाल फेष्टिभलको तयारी जोडतोडका साथ चलिरहेको छ । कार्यक्रममा आफ्नो प्रस्तुति दिने स्थानीय र नेपालका राष्ट्रिय कलाकारहरुको तयारी जारी राखेका छन् । विभिन्न क्षेत्रमा रहेका नेपाली भाषा विद्यालयहरुमा पढिरहेका विद्यार्थीहरुको विशेष प्रस्तुति रहनेछ ।
संयोजक सापकोटाले यस पटकको नेपाल फेष्टिभल सम्पन्न गर्नका लागि २ लाख ३० हजार डलरको बजेट लाग्ने अनुमान छ ।
“जसमध्ये अधिकांश बजेटको जोहो भइसकेको छ । हाम्रो साथीहरुले आर्थिक पाटोलाई लगभग सकाउनुभएको छ । केही नयाँ प्रायोजकहरु पनि आउन ईच्छुक हुनुहुन्छ, अन्तिम चरणमा कुरा भइरहेको छ ।” उनले भने ।

नेपाल फेष्टिभलमा दोश्रो पुस्ताका नेपाली किशोर किशोरीलाई समेट्नका लागि उनीहरुलाई कार्यक्रमको माष्टर अफ सेरेमोनीमा समेत ठाउँ दिने तयारी छ । यसका लागि ईच्छुकहरुको आवेदन लिने र त्यसमध्ये छनोट गर्ने कार्य सम्पन्न भएको सापकोटाले बताए ।
नेपाल फेष्टिभलका संयोजक सापकोटाले यस पटकको नेपाल फेष्टिभल विगतको भन्दा फरक र भव्य हुने र करिब ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको जानकारी दिएका छन् ।
प्रतिक्रिया