काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआईआईटी० विश्वविद्यालयमा भएको घटनाका विषयमा आवश्यक कूटनीतिक पहल भइरहेको बताउनुभएको छ ।
सो विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको र त्यसपछि नेपाली विद्यार्थीमाथि भएको व्यवहारका सन्दर्भमा आफू सम्पर्कमा रहेर आवश्यक कूटनीतिक पहल थालेको बताउनु भएको हो ।
एक औपचारिक कार्यक्रमका लागि हाल ओमनमा रहनुभएका मन्त्री डा देउवाले यससम्बन्धी समाचार सामाजिक सञ्जाल तथा मिडियामा आएपछि यस विषयलाई गम्भीर रुपमा लिएर पहल सुरु गरेको जानकारी दिनुभयो ।
भारतका लागि नेपाली राजदूत डा शंकर शर्मालाई घटनाको वास्तविकता बुझेर नेपाली विद्यार्थीलाई परेको समस्याका बारेमा आवश्यक तत्परता लिई काम गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।
सोही बमोजिम राजदूत डा शर्माले काम गरिरहनुभएको र केहीबेर अघि नेपाली राजदूताबास नयाँ दिल्लीले विज्ञप्ति पनि प्रकाशन गरिसकेको उहाँले बताउनुभयो ।
त्यसैगरी, आजै अपराह्न आफूले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवसँग नेपाली विद्यार्थीको सुरक्षाको वातावरणका लागि फोनमा कुरा गरेको र उहाँले पनि यसका लागि आवश्यक पहल र समन्वय गरिरहेको जानकारी दिनुभएको मन्त्री डा देउवाले बताउनुभयो ।
यस विषयमा परराष्ट्र मन्त्रालयले आवश्यक तत्परताका साथ काम गरिरहेको र पछिल्लो अवस्थाका बारेमा जानकारी गराउने पनि मन्त्री डा देउवाले बताउनुभएको छ ।
प्रतिक्रिया