होबार्टको पार्लियामेन्ट लन सालामाङ्कामा मार्च २९ तारिख दोश्रो नेपाल फेष्टिभल

होबार्टको पार्लियामेन्ट लन सालामाङ्कामा मार्च २९ तारिख दोश्रो नेपाल फेष्टिभल


तास्मानिया ।

तास्मानियामा नेपाल महोत्सव २०२५ हुने भएको छ। दुई वर्षको अन्तरालमा आयोजना गरिने उक्त कार्यक्रम आगामी मार्च २९, शनिबार संसद भवनको लन, सालामाङ्कामा आयोजना हुने भएको हो।

अजी फाईनान्स एण्ड होम लोन मुख्य प्रायोजक, एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज तास्मानिया पावर्ड बाई र ब्राईटन कलेज कोपावर्ड वाई रहेको रहेको नेपाल महोत्सव गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको महत्वपूर्ण कार्यक्रम हो। उक्त कार्यक्रमले नेपाली भाषा, संस्कृति, परम्परा, तथा नेपाली खानालाई प्रवर्द्धन गर्दै नयाँ पुस्तालाई आफ्नो पहिचानसँग जोड्ने अवसर प्रदान गर्दछ ।

तस्मानियाका सम्पूर्ण व्यापारिक समुदाय नेपाल महोत्सवलाई सफल बनाउन उत्साहित रहेको एनआरएन तास्मानिया राज्य संयोजक जगदीश खड्काले बताए। उनले अन्य कर्पोरेट प्रायोजक तथा सहयोगीहरूसँगको सहकार्य सम्झौता अन्तिम चरणमा रहेको पनि जानकारी दिए।

नेपाल महोत्सवलाई व्यवस्थित बनाउन विभिन्न कार्यदलहरू गठन भइसकेका छन् र तयारी तीव्र रूपमा अघि बढिरहेको छ । स्थानीय समुदायका संगठन, खेलकुद क्लब तथा विभिन्न संघसंस्थाहरूसँग छलफल गरी सबैलाई महोत्सवमा सहभागी हुन आह्वान गरिएको छ। तस्मानियामा रहेका सम्पूर्ण नेपाली भाषीहरूलाई महोत्सवमा उपस्थित हुन संयोजक खड्काले आग्रह गरेका छन्।

दोस्रो पटक अयोजना हुने नेपाल फेस्टिभलले नेपाली संस्कृतिलाई प्रवर्द्धन गर्दै विविध सांस्कृतिक कार्यक्रम, परम्परागत खाना, संगीत तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू प्रस्तुत गर्नेछ । यसले नेपाली समुदायलाई अझ नजिक ल्याउने तथा नयाँ पुस्तालाई आफ्नै संस्कृति र परम्परासँग परिचित गराउने अवसर प्रदान गर्नेछ ।

कार्यक्रममा नेपाली खानाका स्टल , व्यवसायिक स्टल, नेपाल हाउस सहित नेपाली कला संस्कृति झल्कने सामग्रीहरु, हस्तकलाका सामग्रीहरु प्रदर्शन गरिने छ। उक्त कार्यक्रममा नेपालको चर्चित व्याण्ड कन्दरा र गायिका समीक्षा अधिकारी लगायतका कलाकारहरुको प्रस्तुति रहनेछ ।