तास्मानियामा फेब्रुअरी १५ तारिख नेपाली विद्यार्थीहरूका लागि वनभोज कार्यक्रम

तास्मानियामा फेब्रुअरी १५ तारिख नेपाली विद्यार्थीहरूका लागि वनभोज कार्यक्रम


तास्मानिया, अष्ट्रेलिया ।

गैरआवासीय नेपाली संघ तास्मानियाले आगामी फेब्रुअरी १५ तारिख नेपाली विद्यार्थीहरूका लागि वनभोज कार्यक्रम गर्ने भएको छ । नयाँ आएका र पहिल्यैदेखि तास्मानियामा पढिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई लक्षित गर्दै कार्यक्रम गर्न लागिएको हो । आपसी चिनजान, अनुभव आदानप्रदान, नेटवर्किङ तथा मानसिक स्वास्थ्यका विषयमा परामर्श प्रबद्र्धनका लागि यस्ता भेटघाट महत्वपूर्ण हुनेछ ।

एनआरएनए युवा मञ्चका उपसंयोजक राजीव ओझाका अनुसार, यो वनभोजले विद्यार्थीहरूलाई एकअर्कासँग जोडिन, अनुभव बाँड्न र मानसिक स्वास्थ्यप्रति सचेत बनाउन कोशेढुंगा बन्ने अपेक्षा छ । “विद्यार्थीहरूले अध्ययन र व्यक्तिगत जीवनमा आउने विभिन्न चुनौतीहरूको सामना गर्दा समुदायसँगको सम्बन्ध महत्वपूर्ण हुन्छ। यो कार्यक्रमले उनीहरूलाई नयाँ साथीसँग परिचय गराउने मात्र होइन, आपसी सहयोग, प्रेरणा र मार्गदर्शन पाउने अवसर पनि दिनेछ,” ओझाले भने।

यो कार्यक्रमलाई सफल बनाउन विभिन्न शिक्षा तथा व्यवसाय क्षेत्रमा क्रियाशील संस्थाहरूले हातेमालो गरेका छन् ।

यस कार्यक्रमलाई नारी निकुञ्ज तास्मानिया, एनआरएन युथ फोरम तास्मानिया सहित नेपाली समूदायका संघसंस्थाले पनि विशेष सहयोगमा एनआरएन तास्मानियाले ल्याएको हो । आयोजकले तास्मानियाका सम्पूर्ण नेपाली विद्यार्थीहरूलाई यस अवसरलाई सदुपयोग गर्न आग्रह गरेका छन् ।