राजदूत चित्रलेखा यादवले बुझाईन् अष्ट्रेलियाकी गभर्नर जनरल समक्ष ओहोदाको प्रमाणपत्र

राजदूत चित्रलेखा यादवले बुझाईन् अष्ट्रेलियाकी गभर्नर जनरल समक्ष ओहोदाको प्रमाणपत्र


क्यानबेरा, अष्ट्रेलिया ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले आज आफ्नो ओहोदाको प्रमाणपत्र यहाँका गभर्नर जनरल शाम मोस्टेन समक्षी बुझाएकी छिन् । गभर्नर जनरलको कार्यालयमा आयोजना गरिएको विशेष समारोहमा राजदूत यादवले ओहोदाको प्रमाणपत्र बुझाएकी हुन् । सोही अवसरमा उनले राष्ट्रपति रामचन्द्र पौडेलको सन्देश पनि यहाँका राष्ट्रप्रमुख समक्ष हस्तान्तरण गरेकी छिन् ।
समारोहमा राजदूत यादवका श्रीमान श्रीकृष्ण यादव पनि सहभागी थिए । आज गभर्नर जनरलसमक्ष नेपालसहित पनामा र चिलीका राजदूतले पनि आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका थिए ।

प्रमाणपत्र बुझाउनुअघि राजदूतको सम्मानमा सैनिक टुकडीले सलामी दिएको थियो भने यहाँका आदिवासीहरुले आफ्नै शैलीमा देशमा स्वागत कार्यक्रम सम्पन्न गरेका थिए । ओहोदाको प्रमाणपत्र बुझाएपछि कंगारु राईडमा राजदूतहरु गएको गभर्नर जनरलको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

अष्ट्रेलिया र नेपालबीचको सम्बन्ध स्थापनाको ६ दशकभन्दा लामो समय अवधिमा पूर्वमन्त्री एवं पूर्वसभामुखलाई नै राजदूतको रुपमा पठाइएको पहिलो पटक हो । यस निर्णयले नेपालले अष्ट्रेलियासँगको सम्बन्धलाई दिएको महत्व दर्शाउँछ ।


राजदूत यादवले नै अष्ट्रेलिया सहित न्यूजिल्याण्ड समेत हेर्ने भएका कारण यसपछि न्यूजिल्याण्डमा आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम हुनेछ ।

दुई देशबीच पछिल्लो समयमा आर्थिक सहकार्यका विषयमा टिफा सम्झौता सम्पन्न भएको छ । यसको पहिलो बैठक नेपालमा सम्पन्न भइसकेको छ भने दोश्रो बैठक अष्ट्रेलियामा हुनेछ ।
दुई देशबीच सिधा हवाई सेवा उडानको प्रयास अघि बढेको भएपनि त्यसले मूर्तरुप पाइसकेको छैन । यस्तै क्यानबेरामा नेपाली दूतावास भवन निर्माणको कार्य पनि विगतका राजदूतहरुको पालामा केही अघि बढेपछि बजेट अभावमा रोकिएको अवस्था छ । राजदूतावासमा कर्मचारी अभावका कारण सेवाग्राहीहरुले उचित सेवा पाउन नसकेको गुनासो हुँदै आएको छ । पछिल्लो समय गरिएको सुधारपछि केही समाधान भएपनि कर्मचारी थप गर्नुपर्ने चुनौती पनि राजदूत यादव समक्ष छ ।