क्यानबेरा, अष्ट्रेलिया ।
अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले आज आफ्नो ओहोदाको प्रमाणपत्र यहाँका गभर्नर जनरल समक्ष बुझाउँदैछिन् । गभर्नर जनरलको कार्यालयमा आयोजना गरिने विशेष समारोहमा राजदूत यादवले राष्ट्रपति रामचन्द्र पौडेलको सन्देश पनि यहाँका राष्ट्रप्रमुख समक्ष बुझाउनेछिन् ।
अष्ट्रेलिया र नेपालबीचको सम्बन्ध स्थापनाको ६ दशकभन्दा लामो समय अवधिमा पूर्वमन्त्री एवं पूर्वसभामुखलाई नै राजदूतको रुपमा पठाइएको पहिलो पटक हो । यस निर्णयले नेपालले अष्ट्रेलियासँगको सम्बन्धलाई दिएको महत्व दर्शाउँछ ।
राजदूत यादवले नै अष्ट्रेलिया सहित न्यूजिल्याण्ड समेत हेर्ने भएका कारण यसपछि न्यूजिल्याण्डमा आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम हुनेछ । सामान्यत राजदूतहरुले ओहोदाको प्रमाणपत्र बुझाएपछि मात्रै औपचारिक रुपमा काम सुरु गर्ने प्रचलन रहँदै आएको छ ।
दुई देशबीच पछिल्लो समयमा आर्थिक सहकार्यका विषयमा टिफा सम्झौता सम्पन्न भएको छ । यसको पहिलो बैठक नेपालमा सम्पन्न भइसकेको छ भने दोश्रो बैठक अष्ट्रेलियामा हुनेछ ।
दुई देशबीच सिधा हवाई सेवा उडानको प्रयास अघि बढेको भएपनि त्यसले मूर्तरुप पाइसकेको छैन । यस्तै क्यानबेरामा नेपाली दूतावास भवन निर्माणको कार्य पनि विगतका राजदूतहरुको पालामा केही अघि बढेपछि बजेट अभावमा रोकिएको अवस्था छ । राजदूतावासमा कर्मचारी अभावका कारण सेवाग्राहीहरुले उचित सेवा पाउन नसकेको गुनासो हुँदै आएको छ । पछिल्लो समय गरिएको सुधारपछि केही समाधान भएपनि कर्मचारी थप गर्नुपर्ने चुनौती पनि राजदूत यादव समक्ष छ ।
प्रतिक्रिया