गायिका एलिना चौहानले दर्ता गरिन् सम्बन्ध विच्छेदको मुद्दा !

गायिका एलिना चौहानले दर्ता गरिन् सम्बन्ध विच्छेदको मुद्दा !


काठमाडौं । गायिका एलिना चौहानले आफ्नो विवाहको १० मिहना नपुग्दै सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेकी छिन् । अष्ट्रेलियामा बसोबास गर्दै आएका विष्णु सापकोटासँग आफु अब वैवाहिक सम्बन्धमा बस्न नसक्ने भन्दै उनले सम्बन्धविच्छेदका लागि फिरादपत्र बुझाएकी हुन् । माना चामल र अंश समेत नलिने भन्दै उनले मुद्दा दिएकी हुन् । सामान्यतः अंश सहित सम्बन्ध विच्छेद गर्दा लामो समय लाग्ने गर्दछ । यसबीचमा दुई पक्षलाई मिलापत्र गराउनका लागि पनि अदालतले समय लगाउने गर्दछ । तर, यो सम्बन्ध सदाका लागि समाप्त गर्नेगरी उनले अंश समेत नलिनेगरी सम्बन्धविच्छेद माग गरेकी छिन् ।

फिरादपत्रमा गायिका एलिनाले आफ्नो व्यवसायिक जीवनमाथि नै आँच पुग्नेगरी कार्यक्रमहरुमा सहभागी भएका बेला विभिन्न शंका उपशंका गर्ने गरेको । कार्यक्रमकाबीचमा नै फोन गरेर तनाव दिने गरेको उल्लेख गरेकी छिन् । अदालतमा उल्लेख नगरिए पनि उनले केही समय अघि गायिका ज्योति मगरलाई आफुमाथि पारिवारिक हिंसा भएको खुलासा गरेकी थिइन् ।

उनले विवाहको छोटो समयमा नै पतिले कुटपिट गरेको भन्दै नीलडामसहितको आफ्नो सुन्निएको अनुहारको समेत फोटो देखाएर पीडा पोखेकी थिइन् । तर, पछि ज्योतिले त्यो पोष्ट हटाएपछि विभिन्न आशंकाहरु बढेका थिए । यसबीचमा चुपचाप बसेकी एलिनाले शुक्रबार काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेकी छिन् । वकिलमार्फत अष्ट्रेलियामा रहेका उनका पतिलाई यस सम्बन्धमा अदालतले जानकारी गराउनेछ । त्यसपछि प्रतिउत्तरको आधारमा निर्णय गर्ने नियम छ ।

मुद्दामा मानसिक तनावको मात्रै कुरा उल्लेख गरेका कारण श्रीमान विष्णु घरेलु हिंसाको अपराधबाट भने मुक्त हुने देखिएको छ । अष्ट्रेलियामा घरेलु हिंसाको घटनामा कडा सजायको व्यवस्था छ । यस्तो घटनामा दोषी पाइएमा जेल जाने र भिसावाहकलाई देश निकाला समेत हुनसक्ने सजायको व्यवस्था छ ।

सम्बन्ध विच्छेदको मुद्दामा उनले आफुले लगाएका गहना र कपडाहरु फिर्ता नगर्ने तर अंश भने केही नचाहने पनि उल्लेख गरेकी छिन् । अष्ट्रेलियामा रहँदा एलिनाले डार्विनमा भएको नेपाल फेष्टिभलमा मात्रै गीत गाएकी थिइन् । उनीमाथि त्यहाँ रहँदा पनि हिंसा भएको फिरादपत्रबाट खुल्दछ । एलिनाका पति सापकोटा लोकदोहोरी प्रतिष्ठान अष्ट्रेलियाका अध्यक्ष पनि हुन् ।