सिड्नी, अष्ट्रेलिया ।
अष्ट्रेलियाको न्यूसाउथवेल्स राज्यमा नेपाल सरकारको प्रतिनिधिका रुपमा वाणिज्यदूतको कार्यालयको सोमबार उद्घाटन गरिएको छ । अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले एक कार्यक्रमकाबीच सिड्नी सिटीमा रहेको वाणिज्यदूतको कार्यालय उद्घाटन गरेकी हुन् । न्यूसाउथवेल्सका लागि नेपाली वाणिज्यदूत सञ्जीव शर्माले नयाँ कार्यालय स्थापनाले सेवाग्राहीहरुलाई थप सुविधा र सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उद्घाटन कार्यक्रमपछि बोल्दै राजदूत यादवले अष्ट्रेलिया आएको छोटो अवधिमा नै आफुले यहाँ रहेका नेपालीहरुको बारेमा निकै नै राम्रो कुरा सुनेको बताइन् । उनले नयाँ वाणिज्यदूतको कार्यालयले नेपालीहरुलाई मात्र नभई नेपाल जान चाहने विदेशी, अष्ट्रेलियनहरुलाई समेत सेवा दिने धारणा राखिन् ।
उनले आफ्नो प्राथमिकता उच्चस्तीय भ्रमण, दूतावासको सेवामा सुधार, दुई देशबीच सिधा हवाई सेवा सञ्चालन रहेको बताइन् । उनले दूतावास भवन निर्माणको प्रसंगमा नेपालको परराष्ट्र मन्त्रालयमा रहेको नियमका कारण दूतावास आफैंले भवन बनाउन नपाउने भएका कारण ढिलाई भएको पनि खुलासा गरिन् । उनको प्रश्न थियो, “भवन बनाउन नपाउने हो भने किन जग्गा किनेको, किन डिजाईन गरेको ? अहिले नियमले बनाउन मिल्दैन भनिँदैछ । यस्तो नियम छ भने परिवर्तन गरेर भएपनि भवनले पूर्णता पाउनुपर्दछ । त्यसतर्फ म लाग्छु ।”
कार्यक्रममा न्यूसाउथवेल्समा रहेका विभिन्न संघसंस्थाको प्रतिनिधित्व गर्दै फेन्काका महासचिव विष्णु हमालले नयाँ बनेको वाणिज्यदूतको कार्यालयले यहाँ रहेका नेपालीहरुको समस्यामा सहयोगीको भूमिका निर्वाह गर्ने र उनीहरुलाई आवश्यक पर्ने सुविधाका विषयमा पनि पहल थाल्ने आशा व्यक्त गरे । उनले न्यूसाउथवेल्समा बन्न लागेको बहुसांस्कृतिक केन्द्रको बारेमा जानकारी गराएका थिए ।
अष्ट्रेलियामा बसोबास गर्ने नेपालीमध्ये पुराना डा. नारायण प्रधानले पहिले नेपाली भ्टदा पनि खुशी हुने समयबाट अहिले जताततै नेपाली नै नेपाली भेट हुने समय आएको बताए । उनले नयाँ वाणिज्यदूतको सफल कार्यकालको शुभकामना दिएका थिए ।
न्यूसाउथवेल्समा डेढ दशक सेवा गरेका पूर्वमहावाणिज्यदूत दिपक खड्काले छोटो समयमा पनि उपलब्धीपूर्ण काम गर्न सकिने उदाहरण प्रस्तुत गर्ने सफलता मिलोस् भन्ने शुभकामना दिएका थिए ।
एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले विगतमा महावाणिज्यदुतको कार्यालयसँग गरेको सहकार्य संस्मरण गर्दै आगामी दिनमा वाणिज्यदूत शर्माको कार्यकाल समेत यसलाई निरन्तरता प्राप्त हुने अपेक्षा गरे । एनआरएनको सञ्जाल ठूलो भएका कारण यस्तो सहकार्यले आम सर्वसाधारणलाई सुविधा पुग्ने उनको धारणा थियो । हालै भएको पासपोर्टको घुम्ती शिविरहरुको व्यवस्थापनले त्यस्तो उदाहरण प्रस्तुत गरेको उनले बताए । पोखरेलले नेपाली शैलीमा निर्माण गरिएको कार्यालय, दोश्रो पुस्ताका नेपाली समेटिएको युथ काउन्सिल लगायतले राम्रो सुरुवातको छनक दिएको धारणा राखे ।
कार्यक्रममा पत्रकारहरुको तर्फबाट बोल्दै अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसन एन्जाका अध्यक्ष चिरञ्जीवी देवकोटाले देशको प्रतिनिधित्व गर्ने पद भएका कारण सबैको साझा बन्न सुझाव दिए । उनले नयाँ नियुक्त राजदूतलाई पनि स्वागत गर्दै आफ्नो राजनीतिक पृष्ठभूमि जेसुकै भएपनि राजदूतका रुपमा आइसकेपछि अब दलको झण्डा र कुनै एक समूदायलाई मात्रै च्याप्ने प्रवृत्ति राख्न नहुने सुझाव दिएका थिए । उनले दूतावासले विगतमा थालेका कार्यलाई थप अघि बढाउने कार्यमा यहाँको नागरिक समाज, पत्रकार, बुद्धिजीवी सबै दूतावाससँग हातेमालो गर्न तयार रहेको बताए ।
कार्यक्रममा बोल्दै अष्ट्रेलिया भ्रमणमा रहनुभएका पूर्वमन्त्री बलबहादुर केसीले नेपालका राजनीतिक दलहरुलाई गाली गरेर मात्र समस्या समाधान नहुने धारणा राखे । उनले अहिलेको राजदूत परिपक्व, भिजन भएको व्यक्ति भएका कारण यहाँका नेपालीले सही अभिभावकत्व पाउने विश्वास व्यक्त गरे । त्यस्तै विश्वहिन्दू महासंघकी उपाध्यक्ष ज्योत्सना साउदले कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी व्यक्त गरिन् भने परोपकारी कार्यमा पनि हात अघि बढाउन सुझाव दिइन् ।
वाणिज्यदूतको कार्यालयले दोश्रो पुस्ताका नेपालीलाई समेट्नका लागि उनीहरुका कुरा सून्नका लागि बनाएको युथ एडभाईजरी काउन्सिलमा रहेका आदित्य राउत र सम्राट खड्काले कार्यक्रमको सुरुवातमै युवाहरुको अपेक्षा, वाणिज्यदूतको कार्यालयसँगको सहकार्य लगायतका विषयमा आफ्नो धारणा राखेका थिए । नेपालका प्रसिद्ध स्थलहरु, पर्यटकीय गन्तव्यहरु, ऐतिहासिक धरोहरका बारेमा विश्वमञ्चमा चिनाउनुपर्ने उनीहरुले बताए ।
सिड्नीमा रहेका विभिन्न संघसंस्थाका पदाधिकारीहरु, समूदायका अगुवा लगायतको उपस्थितिमा गरिएको उद्घाटनमा सहभागी सबैले नेपाली शैलीको नयाँ वाणिज्यदूतको कार्यालय सबैको मिलनबिन्दु बन्ने आशा व्यक्त गरेका थिए ।
प्रतिक्रिया