मेलबर्न, अष्ट्रेलिया ।
अष्ट्रेलियाको भिक्टोरिया राज्यमा सञ्चालित बहुसांस्कृतिक केन्द्र अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरको हालै सम्पन्न अधिवेशनबाट डा. तिलक पोखरेल अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । उनीसँगै पूरै कार्यसमिति सर्वसम्मत चयन भएको हो । एएनएमसीले मेलबर्नको डिगर्स रेष्टमा नेपाली मन्दिर, गुम्बा सहितको संरचना सञ्चालन गर्दछ । बृहद योजनालाई मूर्तरुप दिन यस कमिटीले काम गर्नेछ । बहुसांस्कृतिक केन्द्रको दैनिक सञ्चालनका साथै भिक्टोरियाको राज्य सरकारसँग समूदायका लागि विभिन्न सुविधा प्राप्तिमा पनि केन्द्रले भूमिका निर्वाह गर्दै आएको छ । पछिल्लो समय जग्गा खरिद गरेर मन्दिर नै सञ्चालन गरिसकेपछि केन्द्रप्रति आकर्षण बढ्दो छ ।
नयाँ कार्यसमितिले आगामी फेब्रुअरी २३ तारिखका दिन सपथग्रहण र पद हस्तान्तरण गर्ने कार्यक्रम तय भएको हालका अध्यक्ष गान्धी भट्टराईले केविसीखबरलाई जानकारी दिए । उनको कार्यकालमा मन्दिर सञ्चालन भएको थियो भने तीज, दशैं लगायतका चाडवाडमा उल्लेख्य संख्यामा उपस्थित दर्शनार्थीहरुको व्यवस्थापन गर्ने सफलता मिलेको थियो । यही कार्यकालमा ५ लाख डलरभन्दा बढी राज्य सरकारको सहयोग केन्द्रलाई प्राप्त भएको छ ।
अधिवेशनबाट चुनिएको नयाँ कार्यसमितिमा उपाध्यक्ष केशवराज कँडेल, प्रभा श्रेष्ठ छन् भने सचिवमा सुधिर शाक्य, सहसचिवमा दिपक आचार्य, कोषाध्यक्षमा अर्जुन ढकाल, सहकोषाध्यक्षमा मनिषा अर्याल, सदस्यहरुमा एभान सुवेदी, पर्शुराम शर्मा, प्रिन्स भन्डारी, प्रेम कँडेल, सविता अधिकारी र रुवि थापामगर रहेकी छिन् ।
हामीले वर्तमान कार्यसमितिमा सचिवको जिम्मेवारी निभाएका नवनिर्वाचित अध्यक्ष पोखरेललाई भावी योजना के छन् ? सोधेका थियौं – “अहिले धेरै काम भइरहेको छ । मुख्यतः धार्मिक चाडवाड र पर्वहरुमा हामी केन्द्रित भएको जस्तो देखिएको छ । यसैले अबको लक्ष्य चाहीँ बहुसांस्कृतिक केन्द्रको स्वरुप बनाउन आवश्यक छ । त्यसको लागि गुरुयोजनालाई पूर्णता दिने, समूदायको तर्फबाट सर्वस्वीकार्य बनाउने काम बाँकी छ । मेरो अर्को प्राथमिकता भनेको एउटा सामूदायिक केन्द्र भवन बनाउने जसमा नेपाली कला, संस्कृति र परम्पराको प्रदर्शन मात्र होइन त्यस भवनमा ठूला ठूला जमघट पनि आयोजना गर्न सकियोस् भन्ने छ । त्यसको डिजाईन पनि बनाइराखेको छु । यो दुई वर्षमा बनाउन नसकेपनि योजनालाई फाईनल गरेर त्यसको लागि आवश्यक ग्रान्टहरु अप्लाई गर्ने नै प्राथमिकता हुनेछ । आगामी १० वर्षमा कस्तो हुन्छ, के बन्छ मल्टिकल्चरल सेन्टर भन्ने जानकारी समूदायले पाउने वातावरण निर्माण गर्छु ।
नयाँ कार्यसमितिमा पनि ऊर्जाका साथ साथीहरु आउनुभएको छ, सबैसँग सहकार्य गरेर अघि बढ्छु । कम्युनिटीलाई एकताबद्ध बनाउने र नेपाली बहुसांस्कृतिक समूदायलाई जोड्ने मेरो ध्यान हुनेछ ।”
प्रतिक्रिया