अष्ट्रेलियामा पासपोर्ट घुम्ती शिविरबाट एकै वर्ष २४ सय २७ ले पाए सेवा

अष्ट्रेलियामा पासपोर्ट घुम्ती शिविरबाट एकै वर्ष २४ सय २७ ले पाए सेवा


मेलबर्न, अष्ट्रेलिया ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलिया र नेपाली दूतावासको सहकार्यमा अष्ट्रेलियाका विभिन्न राज्यमा सञ्चालन गरिएको पासपोर्ट घुम्ती शिविरबाट २ हजार ४ सय २७ जनाले सेवा पाएका छन् । पासपोर्ट नवीकरणका लागि महादेशजत्रो अष्ट्रेलियाका विभिन्न ठाउँबाट नेपाली दूतावास क्यानबेरा जानुपर्ने बाध्यता भएपनि शिविर सञ्चालनबाट पासपोर्टको मिति सकिएकाहरु लाभान्वित भएका हुन् । २४ सय भन्दा बढी नेपालीले शिविबाट सेवा लिँदा लाखौं डलर बचत भएको एनआरएन अष्ट्रेलियाले जनाएको छ ।

संस्थाका अध्यक्ष अनिल पोखरेलले एनआरएनका सदस्यहरुलाई पठाएको जानकारीमा २० देखि २६ फेब्रुअरीमा पर्थमा गरिएको घुम्ती शिविरबाट ५ सय ४१ जना, अप्रिल ५ देखि १० तारिख एडिलेडमा गरिएको शिविरबाट ६ सय ३ जना, अगष्टको १९ देखि २३ सम्म ब्रिसबेनमा गरिएको शिविरबाट ४ सय ५० जना, डिसेम्बर ५ देखि ८ तारिख डार्विनमा गरिएको शिविरबाट ३ सय ३३ जना र १४ देखि १८ जनवरी २०२५ मा गरिएको शिविरबाट ५ सय जना लाभान्वित भएको तथ्यांक दिँदै यस कार्यमा खटिएका सम्पूर्ण स्वयंसेवीहरु र दूतावासका कर्मचारीहरुलाई धन्यवाद दिइको छ ।

अष्ट्रेलियाका विभिन्न राज्यमा बसोबास गर्ने नेपालीहरुको आग्रहमा एनआरएन अष्ट्रेलियाले यस किसिमका शिवर सञ्चालन गर्न दूतावासमा आग्रह गर्ने गरेको छ । डार्विन, पर्थ जस्ता टाढा रहेका राज्यबाट दुईतर्फी हवाई भाडा नै महँगो हुने र पासपोर्ट नवीकरणका लागि हुने अन्य खर्चसहित एकै व्यक्तिको तीन हजार डलरसम्म खर्च हुनसक्ने तथ्यलाईं आंकलन गर्दै अध्यक्ष पोखरेलले आम सर्वसाधारण नेपालीको २५ देखि ३० लाख डलर बचत गराउन यस किसिमको कार्यक्रम सफल भएको दावी गरेका छन् ।

अध्यक्ष पोखरेलले सेवाग्राहीबाट २५ देखि ७० डलरसम्म सहयोग संकलन गरेर यस्ता शिविरमा आइपर्ने खर्चहरुको व्यवस्थापन गरिएको र कार्यक्रमपछि यदि रकम बढी संकलन भएमा त्यस्तो रकम सामाजिक र परोपकारी कार्यमा खर्च गर्न एनआरएन अष्ट्रेलियाको खातामा जम्मा गरिएको बताउँदै स्वयंसेवक सेवा यो खर्चमा नजोडिएको पनि स्पष्ट गरेका छन् ।

नेपाली दूतावासमा जनशक्ति र बजेटको अभावका कारण यस्ता शिविरमा जाँदा समेत त्यहाँका कर्मचारीहरुको हवाई टिकट, आवास तथा अन्य खर्चको समेत व्यवस्थापन सेवाग्राहीबाट संकलित रकमबाट नै हुँदै आएको पनि अध्यक्ष पोखरेलले बताएका छन् । केही शिविरहरुमा संकलित रकम अपुग भएको पनि उनले उल्लेख गरेका छन् । पासपोर्ट घुम्ती शिविरमा लिइएको रकमका बारेमा सेवाग्राहीलाई सेवा लिनुअघि नै जानकारी दावी पनि उनको छ ।

उनले भनेका छन् – “पासपोर्टका घुम्ती शिविरहरुको आयोजनाले दूतावास र गैरआवासीय नेपाली संघको सहकार्यमात्र दर्शाएको छैन समूदायलाई अत्यन्त जरुरी भएको सेवा समेत प्रवाह गरेको छ ।”