सिड्नी, अष्ट्रेलिया ।
अष्ट्रेलियाका लागि नवनियुक्त राजदूत चित्रलेखा यादव सिड्नी आईपुगेकी छिन् । शुक्रबार मध्यान्ह राजदूत यादवलाई न्यूसाउथवेल्सका लागि नेपाली अवैतनिक वाणिज्यदूत सञ्जीव शर्मा, एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, जनसम्पर्क समिति अष्ट्रेलियाका पूर्वअध्यक्ष कृष्ण गिरी लगायत समूदायका अगुवाहरुले स्वागत गरेका छन् ।
शुक्रबार नै क्यानबेरा जाने र एक साताभित्रै ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम छ । चित्रलेखा यादव अष्ट्रेलियाका लागि राजदूत हुने पहिलो हाईप्रोफाईल राजनीतिकर्मी हुन् ।
पूर्वउपसभामुख र शिक्षामन्त्री समेत रहेकी उनी नेपाली काँग्रेसकी कोषाध्यक्ष पनि थिइन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार बनेपछि यसअघिका राजदूत कैलाशराज पोखरेललाई फिर्ता बोलाइएको थियो । उनको ठाउँमा चित्रलेखा यादव राजदूत नियुक्त भएकी थिइन् । केही समय अघि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको सपथ दिलाएका थिए । राजदूत यादवको कार्यकाल चार वर्षको हुनेछ । सामान्यत अष्ट्रेलियाका लागि आवासीय राजदूत नै न्यूजिल्याण्डको समेत गैरआवासीय राजदूत हुने व्यवस्था छ ।
प्रतिक्रिया