एनआरएन अष्ट्रेलियाले २० हजार सदस्य बनाउने लक्ष्य, आईसीसी प्रवक्तालाई कार्यालयमा स्वागत

एनआरएन अष्ट्रेलियाले २० हजार सदस्य बनाउने लक्ष्य, आईसीसी प्रवक्तालाई कार्यालयमा स्वागत


सिड्नी, अष्ट्रेलिय ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले आफ्नो सदस्य संख्या १६ हजारबाट बढाएर २० हजार बनाउने लक्ष्य राखेको छ । सिड्नीमा अवस्थित आफ्नो कार्यालयमा एनआरएन आईसीसीका प्रवक्ता फणिन्द्र पन्तलाई स्वागत गर्ने क्रममा आफ्नो भनाई राख्दै एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले उक्त लक्ष्य सार्वजनिक गरेका हुन् । एनआरएनको नयाँ सदस्यता खुल्ला गरिएको छ । एनआरएन अष्ट्रेलिया सदस्य संख्याको हिसाबले विश्वकै ठूलो एनसीसीको रुपमा परिचित छ ।

एनआरएन कार्यालयमा भएको भेटका क्रममा एनआरएन नागरिकता तथा अधिकार, हालै सरकारले जारी गरेको अध्यादेश, एनआरएनए अस्ट्रेलियाको आफ्नै भवनरकार्यालय निर्माणको प्रगति तथा उपयोगिता, राष्ट्रिय समन्वय परिषद्को कार्यालय स्थापनाका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद्बाट प्रदान गर्न सकिने सहयोग तथा सहकार्यका नीतिगत विषयमा छलफल भएको थियो । दीर्घकालीन रूपमा नेपाल प्रवर्द्धनका लागि बहुसांस्कृतिक केन्द्र निर्माणका लागि सिड्नी सहित विभिन्न राज्यहरुमा भइरहेका कार्यको पनि चर्चा भएको थियो ।

साथै, संस्थाको सदस्यता अभियान, अन्तर्राष्ट्रिय अधिवेशनमा न्यायोचित प्रतिनिधि छनोट विधिको विकास, प्रवासी नेपालीहरूले नेपालमा गर्न सक्ने योगदान र लगानीका अवसरबारे पनि कार्यक्रममा चर्चा भएको थियो ।
कार्यक्रममा अध्यक्ष अनिल पोखरेल, क्षेत्रीय संयोजक दिनेश पोखरेलसहित अस्ट्रेलियाका तर्फबाट अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधिहरूले उहाँलाई स्वागत गरेका थिए ।

स्वागत कार्यक्रममा प्रवक्ता पन्तसँगै सिड्नी निवासी अन्तर्राष्ट्रिय परिषद् उपाध्यक्ष डा. विनोद श्रेष्ठ, सचिव डा. ज्ञानेन्द्र रेग्मी, नेपाल सरकारको न्यु साउथ वेल्स राज्यको वाणिज्यदूत सञ्जीव शर्मा, ग्रेटर सिड्नी मल्टिकल्चरल नेपाली सोसाइटीका उपाध्यक्ष उमेश पन्त, आइसीसी सदस्यहरू डिल्ली ढकाल, रमेश अधिकारी, पूर्व आइसीसी सदस्य बुद्धि डल्लाकोटी लगायतका सहभागी थिए भने अध्यक्ष अनिल पोखरेल ले एन सी सी अस्ट्रेलियाको तर्फबाट मायाको चिनो प्रदान गर्दै स्वागत गरेका थिए ।