प्रवासीका कुरा सरकारसम्म लैजाने काँग्रेस नेता केसीको आश्वासन

प्रवासीका कुरा सरकारसम्म लैजाने काँग्रेस नेता केसीको आश्वासन


मेलबर्न, अष्ट्रेलिया ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सहमहामन्त्री बलबहादुर केसीले प्रवासी नेपालीहरुका समस्या टिपोट गरेर सम्बन्धित मन्त्रीहरु समक्ष आफुले उठाउने बताएका छन् । मेलबर्नमा जनसम्पर्क समिति अष्ट्रेलियाले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा नेता केसीले यस्तो जानकारी गराएका हुन् । उनले भने, “एक पटकको नेपाली सधैंको नेपाली भन्ने नाराको मर्म अनुसार एनआरएनहरुले अधिकार पाउनुपर्छ । त्यसका लागि म परराष्ट्रमन्त्री आरजु देउवा, गृहमन्त्री रमेश लेखक र काँग्रेस पार्टीका सभापति शेरबहादुर देउवासँग कुरा राख्छु । यस्तै प्रवासमा रहेका क्रियाशील सदस्यहरुलाई महाधिवेशनमा सहभागिताका लागि समेत म केन्द्रीय कमिटीमा कुरा राख्छु ।”

नेता केसीले विदेशमा बस्ने नेपालीहरु सबै नेपालका राजदूत भएको र अष्ट्रेलियामा बसेर पनि नेपालको हितमा गररहेको विषय प्रशंसनीय भएको धारणा राखेका थिए । प्रवासीका मागलाई नेपाल सरकारले सम्बोधन गर्न नसके देशलाई नै घाटा हुने उनले बताए ।
समूदायका सदस्यहरुको कुरा ध्यानपूर्वक सुनेका उनले अष्ट्रेलियामा नेपालीले हासिल गरेको प्रतिष्ठा लोभलाग्दो भएको आफुले पाएको बताए । अष्ट्रेलियाका विभिन्न राज्यहरुमा अन्तरक्रिया गरिरहेका उनी मेलबर्नपछि साउथ अष्ट्रेलिया पुगेका छन् । त्यसपछि सिड्नीमा पनि उनीसँग अन्तरक्रिया कार्यक्रम राखिएको छ ।

मेलबर्नमा आयोजना गरिएको कार्यक्रममा भिक्टोरियाका वाणिज्यदूत निराजन गोलीले दूतावाससम्म पुग्नुपर्ने बाध्यता रहेको, वाणिज्यदूतहरुलाई अधिकार नै नभएको विषयमा ध्यानाकर्षण गराएका थिए । यस विषयमा आफुले हालै नियुक्त भएकी राजदूत चित्रलेखा यादवसँग कुरा गर्ने प्रतिबद्धता पनि नेता केसीले जनाएका छन् ।

यसअघि एनआरएन आईसीसीका पूर्वउपाध्यक्ष दुर्गा आचार्य, पूर्वउपमहासचिव नारायण काफ्ले, एनआरएन भिक्टोरिया संयोजक मणिरत्न सापकोटा, एनआरएन अष्ट्रेलियाका प्रवक्ता बबिन मिश्र, न्याभका अध्यक्ष एकिन्द्र तिमल्सिना, एएनएमसीका अध्यक्ष गान्धी भट्टराई, एकाका पूर्वअध्यक्ष रामचन्द्र पौडेल, जनसम्पर्क समिति अष्ट्रेलियाका उपाध्यक्ष गणेश पौडेल, एनआरएन अष्ट्रेलियाका पूर्वसभापति केशव कँडेल, जनप्रगतिशील मञ्च भिक्टोरियाका अध्यक्ष तिलकप्रसाद उपाध्याय, प्रवासी नेपाली मञ्च भिक्टोरियाका अध्यक्ष गणेश गौतम, जय नेपाल फाउन्डेसनका मदनराज पौडेल लगायतले आफ्ना धारणा राखेका थिए । कार्यक्रममा जनसम्पर्क समितिका नेताहरु देवेन्द्र बस्नेत, विनोद लामा, रमेश श्रेष्ठ, समिर खतिवडा, सोभित प्रधान, कमल लामिछाने, दिपेन हमाल, द्वारिका दवाडी लगायत सहभागी भएका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव यज्ञराज जोशीले गरेका थिए भने स्वागत मन्तव्य सहसचिव एकराज बस्नेतले दिएका थिए ।

कार्यक्रममा विशेष अतिथिका रुपमा पिके क्याम्पसकी पूर्व स्ववियु सभापति रिना उप्रेति केसीलाई स्वागत गरिएको थियो । उनी काँग्रेस नेता केसीकी श्रीमति समेत हुन् ।

उक्त कार्यक्रममा साफ च्याम्पियनशीप कराँतेमा नेपालका लागि रजत पदक विजेता तथा अष्ट्रेलियन च्याम्पियनशीपतर्फ ८४ केजी समूहमा गोल्ड मेडल जित्ने खेलाडी दिवश श्रेष्ठलाई सम्मान गरिएको थियो ।

कार्यक्रमको सभापतित्व गरिरहेका जनसम्पर्क समिति अष्ट्रेलिया भिक्टेरियाका सभापति दिनेश बन्जाराले उपस्थित सबैलाई धन्यवाद दिएका थिए भने उनले अष्ट्रेलियामा जय नेपाल भन्दै हिंड्छु, नेपाली काँग्रेसको झण्डा बोक्छु भन्ने व्यक्तिहरुलाई क्रियाशील सदस्यतामा छुटाउने काम नहोस् । बन्जाराले यहाँका सबै सामाजिक कार्यक्रममा जनसम्पर्क समितिले सक्रिय सहभागिता जनाएको र त्यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता जनाएका थिए ।