होबार्ट, अष्ट्रेलिया ।
अष्ट्रेलियाको टापु राज्य तास्मानियामा नेपाली दूतावास क्यानबेरा र एनआरएन अष्ट्रेलियाको सहकार्यमा नेपाली पासपोर्ट शिविर हुने भएको छ । जनवरी १४ तारिख मंगलबारदेखि शनिबार १८ तारिखसम्म आयोजना गरिने शिविर अन्तर्गत पहिलो चरणमा १४ र १५ तारिख लन्चेष्टनका नेपाली पासपोर्टवाहकहरुले यो सेवा लिन सक्नेछन् ।
अनलाईन फर्म भर्न पाएपनि बायामेट्रिक गर्नका लागि नेपाली दूतावास क्यानबेरा नै जानुपर्ने भएका कारण धेरैलाई असुविधा हुँदै आएको थियो । यस क्रममा हजारौं डलर खर्च समेत हुने गरेकोमा दूतावास र एनआरएनको पहलमा अष्ट्रेलियाका विभिन्न शहरमा यसअघि यस्ता शिविरहरु भइसकेका छन् ।
तास्मानियामा गर्न लागिएको पासपोर्ट नवीकरण शिविरको तयारी पूरा भएको र आकांक्षीहरुलाई ईमेलमार्फत सम्पर्क समेत गरिसकिएको एनआरएन तास्मानियाका सहसचिव प्रयास कार्कीले केविसीखबरलाई जानकारी दिए ।
उनका अनुसार आवेदन प्राप्त भए अनुसार बायोमट्रिकका लागि समय छुट्याएर जानकारी समेत गराइसकिएको छ । यसबीचमा पनि यदि कसैको आपतकालीन रुमपा नै पासपोर्ट नवीकरण गर्नुपर्ने अवस्था भए सहजीकरण गरिने समेत उनले जानकारी गराएका छन् ।
कुनैपनि देशमा भ्रमण गर्नुपर्दा ६ महिनाभन्दा बढीको पासपोर्ट मिति बाँकी रहेको हुनुपर्छ । अधिकांश विद्यार्थी भिसामा आउने नेपालीहरुले पासपोर्ट नवीकरणकै लागि कैयौं डलर खर्च गरेर दूतावास जानुपर्ने अवस्था विद्यमान छ ।
प्रतिक्रिया