रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न जिल्ला अदालतको आदेश, छुट्लान त ?

रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न जिल्ला अदालतको आदेश, छुट्लान त ?


काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको छ । यस निर्णयसँगै रास्वपाका कार्यकर्ताहरुले यसलाई न्यायालयमाथिको विश्वास बृद्धि भएको रुपमा पेश गर्दै उल्लास व्यक्त गर्न थालेका छन् । सामाजिक सञ्जालमा उनका समर्थकहरु खुशी बाँडिरहेको देख्न सकिन्छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । उनलाई कास्की जिल्ला अदालतले छोड्ने आदेश दिएपनि काठमाडौं जिल्ला अदालतमा जाहेर भएको स्वर्णलक्ष्मी सहकारीको अपचलन मुद्दामा पेश गर्नका लागि उनलाई प्रहरीले काठमाडौं ल्याउने तयारी गरेको छ ।

पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलगायत ६३ जना विरुद्ध सरकारी वकिल कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दावी सहित ५ पुसमा थप र ७ पुसमा पूरक अभियोजनपत्र जिल्ला अदालतमा दर्ता गराएको थियो ।

लामिछाने विरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोगमा मुद्दा दायर भएको छ । सोही मुद्दामा लामो बहसपछि आज थुनछेक आदेश आएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम अपलचनमा ३ करोड ३७ लाख ६५ हजार बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । यस्तै, सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ रकम बिगो दाबी गरिएको छ ।