मेलबर्न, अष्ट्रेलिया ।
गैरआवासीय नेपालीहरुको दोश्रो संस्था युनाईटेड नेप्लीज डायस्पोरा अर्गनाईजेसन (युएनडीओ) को पहिलो साधारणसभाले सोनाम लामाको नेतृत्वमा कार्यसमिति चयन गरेको छ । कार्यसमितिमा अष्ट्रेलियाका अभियन्ताहरुको बर्चश्व देखिएको छ । युएनडीओ एनआरएनका पूर्वअध्यक्ष शेष घलेको अग्रसरतामा गठन भएको हो । परराष्ट्र मन्त्रालयले दर्ता गर्न नमानेपछि सर्वोच्च अदालतको आदेशले संस्था दर्ता भएको हो ।
अधिवेशनले उपसभापतिमा प्रेम गाहा मगर, शशीचन्द्र अधिकारी, पासांग रिन्जी शेर्पा, भोमादेवी लिम्बु, त्रिलोक गुरुंग तोकिएका छन् । यस्तै महासचिवमा कुशल केसी, संगीता कार्की कुँवर सचिवमा, उल्का घिमिरे कोषाध्यक्ष, लक्ष्मी गुरुंग र ना मिन ग्योंग एशिया प्यासिफिक क्षेत्रीय संयोजक, युरोप क्षेत्रीय संयोजकमा पदम बहादुर गुरुंग, ओसेनिया क्षेत्रीय संयोजकमा विजय पौडेल, उपसंयोजकमा सुशान्त शर्मा रहेका छन् । कार्यसमितिमा रहेका भोमा लिम्बु, कुशल केसी, विय पौडेल अष्ट्रेलियाबाट प्रतिनिधि भएर काठमाडौं गएका हुन् ।
‘दिगो नेपालका लागि डायस्पोरा संलग्नता’ नाराका साथ सुरु भएको महाधिवेशनमा विभिन्न विषयमा प्यानल डिस्कसन चलाइएको थियो । मार्च २०२२ मा काठमाडौंमा गैरआवासीय नेपाली संघका अग्रज एवम अभियन्ताहरुको अगुवाइमा यूएनडिओ नामको सँस्था स्थापना गर्नुपर्ने निष्कर्षमा संस्था स्थापना गरिएको थियो ।
दर्ता प्रक्रियाको लागि नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा निवेदन दिंदा लामो समय लागेको र कानुनी रुपमा सर्वोच्च अदालतमा ढोका ढकढक्याउँदा यूएनडिओ नामको संस्था दर्ता गर्न दिएको निवेदन अनुसार दर्ता स्वीकृत गर्नु भन्ने आदेश अनुसार संस्था दर्ता प्रक्रिया अघि बढेको थियो ।
आदेश अनुसार नेपाल सरकारको परराष्ट्र मन्त्रालयबाट विदेशमा बस्ने नेपाली र नेपाली मुलका नेपाली संबन्धि ऐन अन्तर्गत संस्था दर्ता भएको हो । सरकारको परराष्ट्र मन्त्रालयको एनआरएन ऐन अन्तर्गत डायस्पोरा नेपालीहरु सदस्य र संलग्न हुनेगरी यो संस्था दर्ता छ ।
प्रतिक्रिया