कास्की, पोखरा ।
सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दा खेपिरहेका रास्वपा सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतमा दुई दिन लगाएर बयान दिएका छन् । बिहीबार र शुक्रबार जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा उनको बयान भएको हो ।
बयानमा लामिछानेले अधिकांश आरोपमा ईन्कारी बयान दिएका छन् । उनले धेरै विषय जीवी राईलाई पक्राउ गरेपछि खुल्नसक्ने भन्दै त्यता पन्छाइदिएका छन् । साथै, उनले आफु कर्मचारी मात्र भएको, मिडियामा काम गर्दाको तलब नै खातामा देखिएको, एउटै रकम झिक्ने र अर्को खातामा हाल्ने गरेका कारण त्यति धेरै कारोबार देखिएको प्रष्टिकरण दिएका छन् । जिल्ला न्यायाधीशले उनलाई दुई पूरक प्रश्न पनि गरेका थिए । यी प्रश्नको जवाफ दिँदै लामिछानेले आफुले सहकारीको विषय टुंग्याउन खोज्दा सरकार ढालिएको बताएका थिए ।
लामिछानेभन्दा अघि यही प्रकरणमा छविलाल जोशी र लीला पछाईको बयान भएको थियो । गएको आइतबार लामिछानेसहित १९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको थियो । सहकारी ठगी कसुरमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
सबै अभियुक्तको बयानपछि अदालतमा थुनछेक बहस हुनेछ । त्यसपछि मात्र अदालतले उनीहरूलाई धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश गर्नेछ । अभियुक्तहरूको बयान लिने क्रम जारी भएकाले थुनछेक बहस सुरु हुनेछ ।
प्रतिक्रिया