नेपाली सोसाईटी अफ तास्मानियाको पहलमा सुरु भयो रन फर हार्मोनी

नेपाली सोसाईटी अफ तास्मानियाको पहलमा सुरु भयो रन फर हार्मोनी


होबार्ट, अष्ट्रेलिया ।

नेपाली सोसाइटी अफ तास्मानियालेमोन्ट्रोज फोरशोर कम्युनिटी पार्कमा चिया गफ रन क्लब र यसको प्रमुख परियोजना रन फर हर्मोनीको सुरुवात गरेको छ। यस कार्यक्रमले तास्मानियामा रहेका नेपाली समुदाय र अन्य बहुसांस्कृतिक समुदायलाई एकताबद्ध गर्दै सामाजिक समावेशिता र सद्भाव प्रोत्साहन गर्ने बताइएको छ ।

कार्यक्रमको प्रमुख अतिथि क्लेरेन्स सिटी काउन्सिलका मेयर ब्रेन्डन ब्लोमलीले दौडमा सहभागी भएर समुदायप्रतिको आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए । उनले यस्तो कार्यक्रममा सहभागी हुन पाउँदा गर्व लागेको बताए । तास्मानियन बहुसांस्कृतिक काउन्सिलकी अध्यक्ष जेड लीले यो परियोजनाले तास्मानियामा स्वस्थ, समावेशी र सद्भावयुक्त समाज निर्माणमा सहयोग पुर्‍याउने बताइन्।

कार्यक्रममा नेपाली सोसाइटी अफ तास्मानियाकी अध्यक्ष रोजिना ताम्राकारले रन फर हर्मोनी परियोजनाबारे जानकारी दिँदै बहुसांस्कृतिक समुदायबीच सहकार्य र संवाद प्रवर्द्धन आफुहरुको उद्देश्य रहेको बताएकी थिइन् । कार्यक्रमका अन्य अतिथिहरूमा डिपार्टमेन्ट अफ फरेन अफेयर्स एन्ड ट्रेडकी निर्देशक रुथ बेर्ड र सांसद रोजर जान्सका प्रतिनिधि जोन वाइज समेत सहभागी थिए ।

कार्यक्रममा ८० भन्दा बढी सहभागीहरूले ५ किलोमिटर दौड पूरा गरेका थिए । दौडपछि सहभागीहरूलाई नेपाली शैलीको चिया र नास्ता प्रदान गरिएको थियो । कार्यक्रममा रन फर हर्मोनी ब्रान्डको टी(शर्ट सार्वजनिक गर्नुका साथै तीन जना सहभागीलाई निशुल्क फर्स्ट एड प्रशिक्षण दिने घोषणा गरिएको थियो।

चिया गफ रन क्लब नेपाली समुदायद्वारा स्थापित नयाँ पहल हो, जसले दौड, संवाद र चियाको माध्यमबाट समुदायलाई शारीरिक स्वास्थ्य र सामाजिक समावेशितामा जोड दिन्छ। रन फर हर्मोनी परियोजना तास्मानियन सरकारको सामाजिक समावेशिता अनुदानद्वारा समर्थित छ। यो दौड प्रत्येक पन्ध्र दिनमा तास्मानियाका चार प्रमुख पार्कहरूमा आयोजना हुनेछ।

कार्यक्रमलाई सफल बनाउन अनट्र्याक तास्मानियाले शीर्ष प्रायोजकका रूपमा सहयोग गरेको थियो भने डाँफे नेपाली र भारतीय रेस्टुरेन्ट, हर्थ क्याफे र रक(सी हाउसजस्ता स्थानीय व्यवसायहरूले आतिथ्य साझेदारको भूमिका निर्वाह गरेका थिए।