काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा पत्रकार निर्मला शर्मा निर्वाचित भएकी छिन् । उनले आफ्नो प्रतिस्पर्धी रमेश विष्टलाई १ हजार ७९ मत अन्तरले पराजित गरी सो पदमा निर्वाचित हुनुभएको हो ।
अध्यक्षमा निर्वाचित शर्माको ४ हजार २८२ मत आएको छ । उनका प्रतिस्पर्धी विष्टको ३ हजार २०३ मत आएको निर्वाचन समितिका संयोजक निरन्जिवी खनालले जानकारी दिएका छन् । मंसिर २८ गते भएको निर्वाचनको परिणाम ३० गते आइतबार अबेर राति सार्वजनिक भएको हो ।
निर्वाचित शर्मा प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनको संयुक्त प्यानलबाट उम्मेवार थिइन् । उनका प्रतिस्पर्धी विष्ट युनियनबाट विद्रोह गरी प्रेस सेन्टर लगायतका संगठनको समर्थनमा उम्मेदवारी दिएका हुन् ।
निर्वाचन समितिले दिएको जानकारीअनुसार वरिष्ठ उपाध्यक्षमा दिपक आचार्य निर्वाचित भएका छन् । उनको ४ हजार २३० मत आएको छ । वरिष्ठ उपाध्यक्षका अन्य उम्मेदवारमा गोविन्द चौलागाइँलाई ५४८ मत, रोशन पुरीलाई २ हजार ८८६ मत आएको छ ।
त्यसैगरी उपाध्यक्ष ९महिला० मा नितु पण्डित ४ हजार ७०५ प्राप्त गरी निर्वाचित भएकी छिन् । त्यस्तै उपाध्यक्ष समावेशीमा उमिद बागचन्दले ४ हजार ९२ मत प्राप्त गरी निर्वाचित भएका छन् । महासचिवमा रामप्रसाद दाहाल ४ हजार ८४ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
त्यस्तै, सचिव खुलामा रमेश खतिवडा, सचिव महिलामा सोनी शर्मा, सचिव आदीबासी जनजातिमा सविन प्रियसनले ३ हजार ५३५ मत ल्याएर निर्वाचित हुनुभएको छ । त्यस्तै अर्का सचिव ९मधेसी० मा अशोककुमार तिवारी निर्वाचित भए ।
सोहीअनुसार कोषाध्यक्षमा रामकृष्ण अधिकारी ३ हजार ८४७ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी रामकृष्ण ज्ञवालीले ३ हजार ४६५ मत प्राप्त गरे । महासंघको ५२ सदस्यीय नयाँ कार्य समितिका लागि निर्वाचन भएको हो ।
प्रतिक्रिया