मेलबर्न, अष्ट्रेलिया ।
शनिबारबाट मेलबर्नमा मेड ईन नेपाल एक्स्पोको दोश्रो संस्करण सुरु भएको छ । एक विशेष समारोहकाबीच नेपालमा निर्मित सामग्रीहरुको प्रदर्शनी र बिक्री शुभारम्भ गरिएको हो । प्रदर्शनीको औपचारिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा मेरीब्रोनांग सिटी काउन्सिलका मेयर प्रदिप तिवारी थिए ।
यस्तै कार्यक्रममा विशेष अतिथिको रुपमा एनआरएन आईसीसीका पूर्वअध्यक्ष शेष घले सहभागी थिए । कार्यक्रममा सहभागी हुन नेपालबाट महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवालीको नेतृत्वमा उद्यमीहरुको टोली नै सहभागी भएको छ । यस्तै ढोरपाटन नगरपालिकाका मेयर धनबहादुर कायत पनि मेलबर्न आइपुगेका छन् ।
कार्यक्रममा बोल्दै मेरीब्रोनांग सिटी काउन्सिलका मेयर तिवारीले यस किसिमको प्रदर्शनी हुनु अत्यन्तै खुशीको कुरा भएको बताउँदै आफुहरु सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेका थिए । यस्तै अष्ट्रेलियामा नेपाली मूलका धनाढ्य एवं एनआरएनका पूर्वअध्यक्ष शेष घलेले यस किसिमको नेपाली सामान प्रबद्र्धन गर्ने कार्यक्रम अझै व्यापक बनाउनुपर्ने विचार राखेका थिए । कार्यक्रमको अध्यक्षता गरेकी महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीले नेप्को ईन्टरटेन्मेन्टसँगको सहकार्यमा मेलबर्नमा गरेको प्रदर्शनीले ऐतिहासिक महत्व राख्ने बताएकी थिइन् । आगामी दिनमा यसलाई निरन्तरता दिने प्रतिबद्धता उनले व्यक्त गरिन् ।
मेरीबेक सिटी काउन्सिलकी काउन्सिलर शु बोल्टन, एनआरएन भिक्टोरियाका सहसंयोजक महादेव धानुक, दिदीबहिनी समाज भिक्टोरियाकी अध्यक्ष रोशनी श्रेष्ठ, अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरका अध्यक्ष गान्धी भट्टराई, न्याभका अध्यक्ष डा. एकिन्द्र तिमिल्सिनालगायतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।
शनिबार सुरु भएको एक्स्पो आईतबार पनि सञ्चालन हुनेछ । नेपाली हस्तकला, चित्रकला, काष्ठकलाका सामग्रीका साथै नेपाली उत्पादनहरु समेत खरिद बिक्री गर्ने व्यवस्था मिलाइएको छ । केविसीखबरसँग कुरा गर्दै आयोजक नेप्को ईन्टरटेन्मेन्टका विराज थापाले उद्घाटन कार्यक्रममा दर्शकहरुको उपस्थितिले उत्साह थपेको धारणा राखे । प्रदर्शनी विहान १० बजेबाट साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया