माकर्थरमा दोश्रो पटक सांसद पदको दौडमा विनोद पौडेल !

माकर्थरमा दोश्रो पटक सांसद पदको दौडमा विनोद पौडेल !



सिड्नी, अष्ट्रेलिया । सिड्नी निवासी विनोद पौडेल दोश्रो पटक सांसद पदमा उठ्ने भएका छन् । लिबरल पार्टीले आफ्नो आधिकारिक उम्मेद्वारका रुपमा मकार्थर क्षेत्रबाट उनको नाम अनुमोदन गरेसँगै उनको उम्मेद्वारी पक्का भएको हो । कुनैपनि नेपालीमूलको उम्मेद्वारले एकै क्षेत्रबाट दोश्रो पटक सांसद पदमा उठेको यो पहिलो पटक हो ।

नेपाली समूदायकाबीचमा सक्रिय युवाको छवि बनाएका उनी लिबरल पार्टीको सदस्यता लिएर राजनीतिमा होमिएका थिए । राजनीतिमा आएको छोटो समयमा नै उनले यो क्षेत्रमा आफ्नो उपस्थिति दर्ज गराएका थिए ।

अघिल्लो चुनावमा नेपाली समूदायले पूरै साथ दिएपनि चुनावी दौडमा भने उनी सफल हुन सकेनन् । उनको अभियानलाई सहयोग गर्न नेपालीहरु विभिन्न राज्यबाट समेत न्यूसाउथवेल्स पुगेका थिए । उनको उम्मेद्वारी पक्का भएपछि लिबरल पार्टीको तर्फबाट जारी गरिएको प्रेस विज्ञप्तिमा अहिलेको सरकारको गलत रवैयाका कारण यस पटक आफुलाई छनोट गर्नेमा उनी ढुक्क रहेको बताएका छन् ।

विनोदका अनुसार हालको मकार्थर क्षेत्रमा सेवा र निर्माणकार्यलाई गति दिने योजना उनले अघि सारेका न् । उनले भनेका छन्, “लिबरल टिमका रुपमा म अहिलेको आर्थिक शिथिलताको अन्त्य गर्न र बलियो अर्थतन्त्र निर्माण गर्न लागिपर्नेछु ।”

मकार्थर क्षेत्र लेबर पार्टीको बलियो गढ मानिन्छ । त्यहाँ तीन पटकदेखि लगातार माईक फ्रिल्यान्डरले जित्दै आएका छन् । अघिल्लो चुनावमा विनोद पौडेलले मात्र ४१ दशमलब ५ प्रतिशत मत प्राप्त गरेका थिए । विजेता फ्रिल्यान्डरले ५८ दशमलब ५ प्रतिशत मत हासिल गरेका थिए । विनोद अघिका लिबरल पार्टीका उम्मेद्वार रिले मुनरोले ४१ दशमलब ६ प्रतिशत मत प्राप्त गरेका थिए ।