झापा । घरेलु कामदारको रुपमा आफ्नै घरमा राखिएकी एक १७ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा झापाको विर्तामोडका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई जिल्ला अदालतले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । यो अवधिमा प्रहरीले प्रारम्भिक अनुसन्धान र सोधपुछ गर्ने बताइएको छ ।
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार बुबा नभएकी किशोरीलाई पढाइदिने सर्तमा घरको कामका लागि राखिएको थियो । उक्त किशोरीकी आमा भारतमा काम गर्दछिन् । घरमा कोही नभएको मौका पारी निजले जबर्जस्ती करणी गरेको आरोप छ । बलात्कारपछि विक्षिप्त बनेकी किशोरी भारततर्फ जान लाग्दा सीमा क्षेत्रमा रहेका विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिहरुले सोधपुछ गरेका थिए । त्यसपछि बलात्कार खुलेको हो ।
बालिकाले सुरुमा इलाका प्रहरी कार्यालय, काँकरभिट्टास्थित महिला सेलका अधिकारीहरुलाई घटनाबारे सुनाएका थिए । भारत जान लागेका बेला उद्दार गरिएकी उनले जबरजस्ती करणीबारे बताएपछि काँकरभिट्टा प्रहरीले इलाका प्रहरी कार्यालय, अनारमनीमा पठाइदिएको थियो ।
अनारमनीमा पनि उनले त्यही अनुसारको बयान दिएपछि शिवाकोटीलाई पक्राउ गरिएको थियो । शिवाकोटी एमालेको तर्फबाट मेयरमा जितेका व्यक्ति हुन् ।
प्रतिक्रिया