नर्स ममता काफ्लेको हत्या आरोपमा लोग्ने नरेस भाटविरुद्ध मुद्दा

नर्स ममता काफ्लेको हत्या आरोपमा लोग्ने नरेस भाटविरुद्ध मुद्दा



अमेरिका । अमेरिकामा लामो समयदेखि विभिन्न अनुसन्धानको चरण पार गरेको नेपाली नर्स ममता काफ्लेको हत्या आरोपमा उनका श्रीमान नरेश भाट विरुद्ध हत्याको आरोपसहित प्रहरीले मुद्दा दायर गरेको छ । यसअघि श्रीमतीको शरीर गायब बनाएको मात्रै आरोप थियो । त्यस क्रममा उनीविरुद्ध अनुसन्धान भइरहँदा त्यहाँको अदालतले प्रहरीको अनुसन्धानपछि हत्याको आरोप समेतमा मुद्दा अघि बढाउन अनुमति दिएको हो । यससँगै अदालतबाट यी आरोप पुष्टि भएमा निजले शरीर गायब बनाएको आरोपमा समेत कारवाही भोग्नुपर्नेछ ।
प्रहरीले गरेको अनुसन्धानमा नरेशले विभिन्नखाले बहानाबाजी गरेको, ३० तारिख नै गायब भएपनि ३१ तारिखसम्म आफुले भेटेको, खोलेसाग खाएको लगायतका घटनाक्रम बताएर प्रहरीलाई गुमाराहमा राखेका थिए । नरेशले आफ्नी श्रीमती हराएको भन्दै एक सातापछि मात्रै प्रहरीमा उजुरी दिएका थिए ।

ममताको घर परिवारका सदस्यहरुको दबाबपछि मात्रै उनले प्रहरीमा उजुरी दिएपनि उनले काम गर्ने ठाउँबाट ममताको हालखबर बुझ्न पठाइएको प्रहरी टोलीलाई नै आफुले यस बारेमा बताइसकेको भनेर पन्छिने गरेका थिए । त्यसैलाई उनले प्रहरीलाई दिएको उजुरीको रुपमा अथ्र्याएका थिए । तर, प्रहरीले पछि निजले प्रहरीसँग गरेको सम्वाद सार्वजनिक गरेपछि अधिकांशले निजले नै ममताको हत्या गरेको आशंका गरेका थिए । उक्त सम्वादमा निज निकै हड्बडाएको, प्रश्न नसोधेका जानकारीहरु पनि उपलब्ध गराएको र विरोधाभाषपूर्ण कुराकानी गरेको पाइएको थियो ।

नर्स ममता काफ्लेको अहिलेसम्म कुनै अत्तोपत्तो छैन । आशंका अनुसार निजले धारिलो हतियार प्रयोग गरी शवलाई टुक्रा बनाएर विभिन्न ठाउँमा फालेका छन् । प्रहरीले शवको कुनै टुक्रा बरामद गर्न नसकेका आधारमा निजले निकै योजनाबद्ध रुपमा शवको व्यवस्थापन गरेको प्रहरीहरुले आशंका गरेका छन् । निजले खरिद गरेको चक्कु, सरसफाईको सामान लगायतले पनि यो आशंकालाई बल पुगेको छ । निजको आवत जावतका आधारमा प्रहरीले नजिकैको पार्कमा समेत सर्च अपरेशन गरेको थियो ।

मनसास प्रहरीले गरेको पत्रकार सम्मेलनमा भाटको घरबाट बरामद भएको रगतको डीएनए परीक्षणपछि यो ममताको नै भएको पुष्टि भएको थियो ।