काठमाडौं । हामी सबैलाई सामाजिक सञ्जालको प्रयोग थाहा छ । अझ टिकटकमा के के गर्नमिल्छ पढ्ने नजान्नेहरु पनि जानकार छन् । त्यसमा केही सामाजिक गाईडलाईन दिइएको हुन्छ । त्यस विपरित भएका भिडियो सिष्टमले नै हटाईदिन्छ । यदि तपाईंलाई यस्तो गलत भयो भन्ने लाग्छ भने अपिल गर्ने सुविधा पनि तपाईंलाई हुन्छ ।
कुनै भिडियोले सामाजिक सद्भाव या व्यक्तिको गोपनीयतामा असर गरेको लागेमा रिपोर्ट पनि गर्न पाइन्छ । तर, यो सामान्य कुरालाई नेपाली सञ्चारमाध्यम अझ खासगरी सरकारी सञ्चारमाध्यमले एउटा तथ्यांकसहित सूचना प्रकाशित गरेर अपरिपक्वताको नमूना प्रस्तुत गरेका छन् । मानौं यिनकै आदेशमा कुनै भिडियो हटाइयो । टिकटकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको समन्वयमा ६ हजारभन्दा बढी भिडियो हटाएको भन्दै दावी प्रस्तुत गरिएको छ । यस्तो दावी ‘डिजिटल सेफ्टी समिट नेपाल’ कार्यक्रममा प्रस्तुत गरिएको हो । कार्यक्रममा टिकटक प्रतिनिधि सिद्रा जलिलले टिकटकले नियमन गर्न बनाएको निर्देशिका ९गाइडलाइन० बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
मर्यादित र व्यवस्थित टिकटक प्लेटफर्म बनाउन उमेर समूह समेत छुट्याइएको प्रस्तुतकर्ता जलिलले बताए । टिकटकमा सीधै म्यासेज गर्न १६ वर्ष उमेर पुगेको हुनुपर्ने, लाइभमा बस्न १८ वर्ष उमेर पुगेको हुनुपर्ने लगायत निर्देशिका टिकटकले निर्धारण गरेको छ । यद्यपि प्रयोगकर्ताको सामाजिक सञ्जालको सही सदुपयोग गर्नेबारे चेतना अभावका कारण गाइडलाइनको सही पालना नभएको निजको जिकिर छ ।
त्यस्तै, कार्यक्रममा दक्षिण एसियाका लागि टिकटकका सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फिरदौस मोक्ताकिनले डिजिटल साक्षरता र अनलाइन सुरक्षा प्रवर्धनमा नेपाल सरकारसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्ध व्यक्त गरेका थिए ।
विशेषगरी बालबालिका र युवाहरूको अनलाइन सुरक्षामा निश्चित ‘गाइडलाइन’ बनाएको जानकारी दिएका थिए ।
प्रतिक्रिया