काठमाडौँ । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज निर्वाचन भइरहेको छ । बिहान ७ः०० देखि सुरु भएको मतदान अपराह्न ५ः०० बजेसम्म मतदान हुने निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तहको नगरपालिका, वडा र गाउँ पालिकाको चुनाव भएपनि सर्वसाधारणको उत्साह भने संघीय चुनावको जस्तो देखिएको छ । नेपालका पत्रपत्रिकाहरुले पनि यसलाई उत्तिकै महत्वका साथ स्थान दिएका छन् । चुनावमा नेपाली सेनाले समेत गस्ती गरेको छ भने राजनीतिक दलहरुले चुनावलाई मिनि जनमतसंग्रहको रुपमा लिएको देखिन्छ । यस पटकको स्थानीय चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी समेत सहभागी भएका कारण चुनावी परिणामले उनीहरुको आगामी बाटोलाई पनि निर्देशित गर्ने अपेक्षा छ ।
नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहमा निर्वाचनका लागि गरिनुपर्ने आवश्यक सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगका प्रवक्ता निता पोख्रेल अर्यालले जानकारी दिनुभयो ।
निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिह्नमा निर्धक्क भई मतदान गर्न आयोगले सम्पूर्ण मतदातालाई आग्रह गरेको छ ।
प्रवक्ता अर्यालका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ ।
आयोगले मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालना गर्न तथा मतदातालाई भयमुक्त वातावरणमा मतदान गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ । मतदान केन्द्रमा शान्त र सहिष्णु वातावरण कायम राख्दै मतदान कार्यलाई सुव्यवस्थित रूपमा सञ्चालन गर्ने÷गराउने कार्यमा सबै राजनीतिक दल, मतदाता, उम्मेदवार, सञ्चारकर्मी, पर्यवेक्षकलगायत सबै सरोकारवालासँग आयोगले सहयोगको अपेक्षा गरेको छ ।
प्रतिक्रिया