पेरुको मरुभूमिमा एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष

पेरुको मरुभूमिमा एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष


लिमा । पेरुको मरुभूमिमा फेला परेको एक करोडदेखि एक करोड २० लाख वर्ष पुरानो एक युवा सामुद्रिक गोहीको अवशेषलाई पेरुका वैज्ञानिकहरूले सार्वजनिक गरेका छन् ।

राजधानी लिमाबाट करिब ३५० किलोमिटर दक्षिणमा रहेको पेरुको ओकुकाजे मरुभूमिमा सन् २०२३ को अन्त्यतिर करिब तीन मिटर (करिब १० फिट) लामो घडियाल गोहीको जीवाश्म फेला परेको थियो । “हामीले यो प्रजातिको किशोर घडियाल गोहीको अवशेष फेला पारेका छौँ, अहिलेसम्म यसको अधिकतम ठुलो आकार फेला परेको रेकर्ड थिएन । यसको एक करोड २० लाख वर्षभन्दा पहिले नै मृत्यु भएको थियो, मेरुदण्डी जीवाश्म विज्ञानका अनुसन्धाता मारियो ग्यामराले एक पत्रकार सम्मेलनमा भन्नुभयो । 

अवशेषको पुनर्निर्माणको नेतृत्व गरेका ग्यामराका अनुसार यी नमुनाहरूको खप्पर र बङ्गारा आजका गोही र मगरमच्छ (गोही) हरुको भन्दा फरक छ । ग्यामराले भन्नुभयो, “तिनीहरूको लामो र चुच्चे मुख थियो र उनीहरूको आहार माछा मार्ने खालको थियो ।” “यो गोहीको सबैभन्दा नजिकको जाती भारतीय घडियाल गोही हो,” उहाँले भन्नुभयो । 

पेरुको ‘जियोलोजिकल, माइनिङ एन्ड मेटलर्जिकल इन्स्टिच्युट’ र ‘ला युनियन स्कुल’ले संयुक्तरुपमा उक्त खोज गरेका हुन् । पेरुको ओकुकाजे मरुभूमिमा चार खुट्टा भएका बौना ह्वेल, डल्फिन, शार्क र अन्य प्रजातिका मिओसिन कालका ५० लाख वर्षदेखि दुई करोड ३० लाख वर्ष पहिलेका अवशेष पत्ता लागेका छन् । रासस/एएफपी