काठमाडौँ । नेपालीहरु राम्रोसँग खेलको मज्जा पनि लिन जान्दैनन् । टिकटक र फेसबुकमा लाईभ गर्ने होडबाजीमा कीर्तिपुरमा भएको नेपाल प्रिमियर लिगको पहिलो उद्घाटन खेलमा नै हुलहुज्जत गरी भित्र प्रवेश गर्न खोज्दा भएको धकेलाधकेलमा ७ जना घाइते भएका छन् भने एकजनाको अवस्था गम्भीर छ ।
विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच भएको उद्घाटन खेल हेर्न जाने क्रममा भीडमा च्यापिएर सात जना घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार घाइते हुनेमा रुपन्देहीको सिद्धार्थनगर घर भई बानेश्वर बस्ने २५ वर्षका जयन श्रेष्ठ, धादिङ खनियावास घर भर्ई केन्द्रीय प्रहरी विशेष कार्यदल कपन दरबन्दी रहेका सङ्घीय संसद् सुरक्षा बेश बानेश्वरमा कार्यरत प्रहरी जवान अजय तामाङ र जुम्ला घर भई सोही बेसमा काम गर्ने प्रहरी दानबहादुर राउत छन्।
यस्तै गुल्मीको कालिगण्डकी घर भई बानेश्वर बस्ने २९ वर्षीय शिशिर गौतम, कपिलवस्तु घर भई हाल काठमाडौँको सितापाइला ३२ वर्षीय केशव आचार्य, बैतडीका केशव नेँगी र रुकुम मुसिकोट घर भई हाल काठमाडौँ बस्ने ३२ वर्षीय प्रेम खड्गी पनि घाइते भएका प्रहरीले जानकारी दिएको छ।
घाइतेमध्ये प्रहरी जवान तामाङको अवस्था गम्भीर रहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । उनको अहिले बाँसवारीस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ। अन्य घाइतेको पनि काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। रासस
प्रतिक्रिया