काठमाडौँ दृष्टिविहीन टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई पराजित गर्दै लगातार दोस्रो जित दर्ता गराएको छ। पाकिस्तानको लाहोरमा मंगलबार भएको खेलमा नेपालले दक्षिण अफ्रिकालाई ११ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको हो।
यसअघि सोमबार भएको खेलमा नेपालले अफगानिस्तानलाई एक सय आठ रनले पराजित गरेको थियो। यो जितसँगै नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ। यस्तै त्यसअघि भएको पहिलो खेलमा भने नेपाल श्रीलङ्कासँग र दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो।
नेपालले दिएको एक सय ९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै एक सय ८७ रनमा समेटियो। दक्षिण अफ्रिकाका लागि ओपनर बुहले भिडलाले अविजित रहँदै शतक प्रहार गरे पनि जितका लागि त्यो अङ्क पर्याप्त बनेन। उहाँले ७१ बल खेल्दै आठ चौकासहित एक सय रनको योगदान दिनुभयो। त्यस्तै लेसिबा एफ्राइम माथापो ४६ र एडरिक तेर हारले ६ रनमा बनाउनुभयो। लेसेडी लेसुफी ११ रनमा अविजित रहनुभयो।
यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ९८ रनको योगफल बनाएको थियो। नेपालका ओपनर नरेश चौधरीले सर्वाधिक ८० रन बनाउनुभयो। उहाँले ५७ बल खेल्दै चार चौका प्रहार गर्नुभयो। सागर लामा ४०, पदम बडैला ३४ र भरत थापा ११ रनमा आउट हुँदा सुनिल मगर एक रनमा अविजित रहनुभयो। बलिङतर्फ दक्षिण अफ्रिकाका भिडलाले एक विकेट हात पार्नुभयो। रासस
प्रतिक्रिया