मेलबर्नको यति फुटबल क्लबले १२ हजार डलरसहित जित्यो गिरिश कप २०२४ !

मेलबर्नको यति फुटबल क्लबले १२ हजार डलरसहित जित्यो गिरिश कप २०२४ !


एडिलेड, अष्ट्रेलिया ।

अष्ट्रेलियाको एडिलेडमा सञ्चालित गिरिश कप फुटबल २०२४ का उपाधि मेलबर्नको यति फुटबल क्लबले जितेको छ । प्रतियोगिताको चौथो संकरण शनिबार र आईतबार आयोजना गरिएको थियो । स्थानीय न्यूजपोर्ट स्टेडियममा भएको प्रतियोगितामा सिड्नीको सेन्टजर्ज फुटबल क्लबलाई शून्यका विरुद्ध एक गोल अन्तरले पराजित गर्दै यति फुटबल क्लबले उपाधिमा कब्जा जमाएको हो । जीतसँगै उसले १२ हजार डलर पुरस्कार र ट्रफी हात पारेको छ । उपाधि जिताउने एकमात्र गोल अभिषेक रिजालले गरेका थिए । यति फुटबल क्लबबाट नेपाली राष्ट्रिय टोलीका स्टार खेलाडी बिमल घर्तीमगर पनि खेल्दछन् ।

यस्तै दोश्रो भएको सेन्टजर्जले ३ हजार डलर र ट्रफीमा चित्त बुझाउनु परेको छ । प्रतियोगितामा मष्ट भ्यालुएबल प्लेयर एलन न्यौपाने बन्न सफल भए । उनले बेष्ट गोलकिपरको पुरस्कार पनि पाए । बेष्ट डिफेन्समा विवेकपन्त, बेष्ट मिडफिल्डरमा सुमन लामाले उपाधि हात पारे यी सबै खेलाडी यति फटबल क्लबकै हुन् । प्रतियोगितामा फेयर प्ले एवार्ड गोर्खा स्टार्स फुटबल क्लबले जित्न सफल भयो भने टप स्कोररको उपाधि सुनील श्रेष्ठले जिते उनी रिमझिम क्लबका खेलाडी हुन् ।

उता प्रतियोगिता अन्तर्गत भेट्रानतर्फको उपाधि भने रोयल वेष्टर्न फुटबल क्लबले जितेको छ । जीतसँगै उसले १५ सय डलर पुरस्कार पनि हात पारेको छ । दोश्रो एडिलेड वारियर्स भयो भने प्रतियोगिताको मष्ट भ्यालुएबल प्लेयरको उपाधि विकास सिलवालले जितेका छन् । उनी रोयल वेष्टर्न फुटलब क्लबका सदस्य हुन् । त्यस्तै टप स्कोरर दिपक अधिकारी बन्न सफल भए । बेष्ट गोलकिपरको एवार्ड एडिलेड वारियर्सका सुमित मल्ल बन्न सफल भएका छन् । विभिन्न एवार्ड जित्ने खेलाडीहरुले ट्रफी र प्रमाणपत्रसँगै नगद पुरस्कार पनि प्राप्त गरेका छन् ।

खेलाडीहरुलाई सिटी अफ टी ट्री गुलीकी मेयर मारिज्का रायनले पुरस्कार वितरण गरेकी थिइन् । उनले प्रतियोगितापछि प्रतिक्रिया दिँदै अत्यन्त प्रतिस्पर्धापूर्ण खेल हेर्न पाइएको बताएकी थिइन् । गिरिश ईभेन्ट एण्ड ईन्टरटेन्मेन्टले प्रतियोगिताको आयोजना गरेको हो । संस्थाका निर्देशक गगन गिरीले यस कार्यमा साथ सहयोग गर्ने मुख्य प्रायोजकसहित सबैलाई धन्यवाद दिएका छन् ।