सकियो सिड्नीको नेपाल फेष्टिभल, हजारौं दर्शक झुमे नेपाली संगीतमा

सकियो सिड्नीको नेपाल फेष्टिभल, हजारौं दर्शक झुमे नेपाली संगीतमा


सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियाको न्यूसाउथवेल्स राज्य अन्तर्गत सिड्नीमा नेपाल फेष्टिभल २०२४ सम्पन्न भएको छ । हजारौं दर्शकको सहभागितामा सम्पन्न नेपाल फेष्टिभलले नेपाली कला, संस्कृति तथा परम्पराको प्रबद्र्धन गर्ने सफलता पाएको छ । विहान टाउन हलबाट सुरु भएको सांस्कृतिक परेडले ईतिहासमै पहिलो पटक सिड्नीका केही सडकको आवागमन नै ठप्प बनाएको थियो । काउन्सिलको स्वीकृतिसहित प्रहरीको एस्कर्टमा भएको परेडले धेरै सिड्नीवासीको ध्यान आकृष्ट गर्न सफल भयो ।

बाजागाजा सहितको परेड टाउन हलबाट सुरु भएर कार्यक्रमस्थल डार्लिङ हार्वरमा पुगेर सम्पन्न भएको थियो । विहान १२ बजेदेखि राति १० बजेसम्म चलेको नेपाल फेष्टिभलमा ३५ वटाभन्दा बढी स्टलहरु राखिएको थियो । नेपाली खाना, नेपालीहरुले सञ्चालक गरेका व्यवसाय मात्र होइन अष्ट्रेलियाका व्यवसायिक संघसंस्थाले पनि सक्रिय सहभागिता जनाएका थिए ।

महोत्सवमा पहिलोपटक यहाँका प्रिमियर क्रिस मिन्स सहभागी भए । कुनैपनि नेपाल फेष्टिभलमा प्रिमियरले सहभागिता जनाएको पहिलो पटक हो । प्रिमियर मिन्ससँगै विपक्षी लिबरल पार्टीका प्रमुख मार्क स्पिकम्यान समेत सहभागी थिए । कार्यक्रममा न्यूसाउथवेल्सका बहुसांस्कृतिक मन्त्री स्टीभ काम्पर समेत नेपाल फेष्टिभलमा सहभागी भएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रिमियर क्रिस मिन्सले भने, “यतिबेला हजारौं सहभागी भएको मेला नेपालमा हैन, विश्वका कुनै कुनामा हैन अष्ट्रेलियाको सिड्नीमा भइरहेको छ । यसैकारण नेपाली समूदायको यो कार्यक्रममा सहभागी हुन पाउनु गर्वको विषय हो ।”

कार्यक्रमका सहभागी वक्ताहरुले अष्ट्रेलियाको बिकास र बहसांकृतिक समाजमा नेपालीले पुर्याएको योगदानको खुलेर प्रससा गरेका थिए ।
महोत्सवमा नेपाल हाउस मुख्य आकर्षणको केन्द्र बनेको थियो जसमा नेपाली धरहरा, पशुपति मन्दिर, बौद्ध स्तुपा लगायतको प्रतिमा स्थापना गरिएको थियो ।

अष्ट्रेलियामा एनआरएनको यस कार्यक्रमलाई यहाँस्थित सरकारले समेत महत्वपूर्ण कार्यक्रमका रूपमा लिँदै ५० हजार डलर आर्थिक अनुदान प्रदान गरेको थियो ।
कार्यक्रमलाई मनोरञ्जक बनाउन अष्ट्रेलियाका नेपाली कलाकारका साथै एक्स ब्यान्ड, आस्था राउत र हेमन्त शर्माले साङ्गीतीक मनोरञ्जन दिएका थिए ।

एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले नेपाल महोत्सवले यहाँ रहेका नेपालीलाई एकआपसमा जोड्ने काम गरेको बताए । उनले नेपाल महोत्सवमा जनजातिहरुको सहभागिताले यसलाई ऐतिहासिक बनाएको धारणा राखे । कार्यक्रममा प्रमुख प्रायोजक ग्रेस ईन्टरनेशनल एजुकेशन एण्ड भिसाका तर्फबाट निदेशक रामचन्द्र पौडेलले बोल्दै अप्ठेरो परिस्थितिमा पनि समूदायलाई केही दिनपर्छ भन्ने धारणाका साथ आफुहरु सहभागी भएको बताएका थिए ।

कार्यक्रममा एनआरएन न्यूसाउथवेल्स राज्य समितिका संयोजक विनोद कुँवरले स्वागत गरेका थिए भने आईसीसी उपाध्यक्ष विनोद श्रेष्ठ, आईसीसी सचिव डा. ज्ञानेन्द्र रेग्मी, ओसेनिया क्षेत्रीय संयोजक दिनेश पोखरेल, न्यूसाउथवेल्सका वाणिज्यदूत सञ्जीव शर्मा, भिक्टोरियाका वाणिज्यदूत निराजन गौली, पूर्वओसेनिया क्षेत्रीय संयोजक दिनेश जोशीले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन महासचिव सन्तोष कुँवर र न्यूसाउथवेल्स सचिव कल्याण खड्काले गरेका थिए ।

नेपाल फेष्टिभल सम्पन्न भएप्छि केविसीखबरसँग कुरा गर्दै एनआरएन अष्ट्रेलियाका युवा संयोजक सुमन बोहराले परेड लगायतमा नेपालीको सहभागिताले स्वयंसेवी रुपमा काम गर्ने एनआरएनका सदस्यहरुलाई उत्साह थपेको धारणा राखे ।