शुक्रबारदेखि हुने भनिएको सिड्नी रेल नेटवर्कको हड्ताल तत्कालका लागि स्थगित ! नेपाल फेष्टिभललाई राहत

शुक्रबारदेखि हुने भनिएको सिड्नी रेल नेटवर्कको हड्ताल तत्कालका लागि स्थगित ! नेपाल फेष्टिभललाई राहत



सिड्नी, अष्ट्रेलिया ।

अष्ट्रेलियाको सिड्नीमा सञ्चालन हुने मेट्रो रेल चार दिनका लागि ठप्प पार्ने निर्णय हालका लागि स्थगित भएको छ । त्यहाँका प्रिमियर क्रिस मिन्सले यो साता रेल्वे सेवा ठप्प नहुने जानकारी दिएका छन् । अहिले पनि हड्ताल गरिरहेका रेल्वेका कर्मचारीको युनियन र न्यूसाउथवेल्स सरकारकाबीचमा छलफल जारी छ ।

न्यूसाउथवेल्सकी ट्रान्सपोर्ट मिनिष्टर जो हेलनले अबको दुई साताभित्रमा हुने छलफलबाट समस्याको निकास निस्किने अपेक्षा रहेको बताइन् । युनियनहरुको सकारात्मक सोचलाई उनले धन्यवाद दिएकी छिन् ।

मुख्यतः एक वर्षअघिदेखिकै तलब बढाउनुपर्ने र काम गर्ने समय साताको ३५ घण्टा मात्र हुनुपर्ने मागहरुमा छलफल चलिरहेको हो ।
पत्रकारहरुसँग कुरा गर्दै प्रिमियर मिन्सले आगामी २ साता युनियनहरु र सरकारकाबीचमा गहिरो सम्वाद हुने जानकारी दिए ।
शुक्रबारदेखि आईतबारसम्म नै हड्ताल हुने भएपछि यसैबीचमा पर्ने नेपाल फेष्टिभल के हुने भन्ने अन्योल थियो ।

सर्वसाधारणले आफ्नै साधन लिएर कार्यक्रमस्थलमा पुग्नुपर्ने र यसले पार्किंग लगायतको समस्या उत्पन्न हुनसक्ने आशंका गरिएको थियो ।