काठमाडौँ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको हो।
प्रसाईँलाई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार फैलाउने आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रसाईंले केही घन्टाअघि मात्र ‘मलाई पक्राउको तयारी, चनाखो रहन आग्रह’ भन्दै फेसबुकमा पोष्ट गरेका थिए ।
‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री ओलीको बारेमा भ्रामक र गलत जानकारी फैलाएको उनीमाथि आरोप आरोप छ।
उनले हालै आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा एक अफवाहजन्य भिडियो रिपोर्ट सार्वजनिक गर्दै कम्बोडियाको स्मार्ट एजियाटा कम्पनीमा प्रधानमन्त्री ओलीले २१ करोड अमेरिकी डलर (साढे ३२ अर्ब नेपाली रूपैयाँ भन्दा बढी) लगानी गरेको बताएका थिए।
प्रसाईँलाई साइबर अपराधको मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम मुद्दा चलाइने भएको छ।
प्रतिक्रिया