भिजिट भिसामा गएर काम खोज्ने विकृति रोक्न अध्ययन समिति गठन

भिजिट भिसामा गएर काम खोज्ने विकृति रोक्न अध्ययन समिति गठन



काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भम्रण भिसाको दुरुपयोग रोक्ने विषयमा अध्ययन गर्ने निर्णय गरेको छ । श्रममन्त्री शरतसिंह भण्डारीको संयोजकत्वमा भएको छलफलले श्रम मन्त्रालय सहसचिव एवं वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख जीवलाल भुसालको नेतृत्वमा भम्रण भिसा दुरुपयोग रोक्न अध्ययन गर्ने निर्णय गरेको हो ।

श्रम मन्त्रालयका अनुसार छलफलमा श्रममन्त्री भण्डारी, श्रम मन्त्रालयका सहसचिव भुसाल अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजाल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराईलगायतको सहभागिता रहेको थियो ।

मन्त्रालयका अनुसार भुसाल नेतृत्वको टोलीमा अध्यागमन विभाग, गृह मन्त्रालयलगायतका सरोकारवाला मन्त्रालयको प्रतिनिधि रहने छन् । उक्त टोलीले भम्रण भिसाको दुरुपयोग रोक्नेसम्बन्धमा १५ दिनभित्र अध्ययन गरी श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय गृह मन्त्रालयसमक्ष प्रतिवेदन पेस गर्ने छ ।

पछिल्लो समयमा भ्रमण भिसामा वैदेशिक रोजगारीमा जाने प्रचलन बढेको छ । भ्रमण भिसामा वैदेशिक रोजगारीमा जान लाखौँ रकम ठगीमा पर्ने र भम्रण भिसामा गएर गन्तव्य देशमा भनेजस्तो काम नपाएर अलपत्र पर्नेको सङ्ख्या बढेपछि श्रम मन्त्रालयले अध्ययन टोली गठन गरेको जनाएको छ ।

उक्त टोलीले भ्रमण भिसामा के कस्ता नागरिक, कुन माध्यमबाट के कसरी, कुन कुन देश जान्छन् भन्ने विषयमा अध्ययन गर्ने छ ।

नौ वर्षदेखि घरेलु श्रमिकका रूपमा वैदेशिक रोजगारीमा जान प्रतिबन्ध छ । प्रतिबन्धबिच पनि नेपाली महिला भारत, श्रीलङ्का, बङ्गलादेश हुँदै भ्रमण भिसामा संयुक्त अरब इमिरेट्स (युएई), कतार, बहराइन, साउदी अरब, ओमान, कुवेत, लेबनानलगायतका लैजाने गरिएको छ ।

वैदेशिक रोजगार व्यवसायीले पनि विगतदेखि नै भम्रण भिसामार्फत वैदेशिक रोजगारीमा लैजाने प्रवृत्ति अन्त्य गर्नुपर्ने माग गर्दै आएका थिए ।