सरकारले प्रतिशोध गरेको भन्दै आन्दोलन गर्दा रास्वपा सांसदहरुलाई अदालतको अपहेलना मुद्दा

सरकारले प्रतिशोध गरेको भन्दै आन्दोलन गर्दा रास्वपा सांसदहरुलाई अदालतको अपहेलना मुद्दा



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का केन्द्रीय पदाधिकारीसहित १९ सांसदविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि कास्कीलगायतका जिल्लामा अदालतलाई प्रभावित पार्ने गरी गतिविधि भएको भन्दै मुद्दा दर्ता भएको हो । सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको मुद्दा दर्ताका लागि कात्तिक २७ गते एकल न्यायाधीशको इजलासबाट आदेश भएपछि बुधबार दर्ता भएको हो ।

न्यायाधीश विनोद शर्माको एकल इजलासले अधिवक्ता अनुपम भट्टराई निवेदक रहेको मुद्दा दर्ताको आदेश गरेको थियो । सभापति लामिछाने पक्राउ परेपछि अदालतको न्यायिक कार्यमा अवरोध पुग्ने गरी प्रदर्शन गरेको, आफ्ना अभिव्यक्तिमार्फत अदालतलाई प्रभावमा पार्ने र धम्क्याउने काम गरेको जिकिर मुद्दामा गरिएको छ । यस्तै न्यायाधीशमाथि अप्रमाणित आक्षेप लगाएको दाबी पनि मुद्दामा गरिएको छ ।

लामिछानेबाहेकका रास्वपाका १९ सांसदमाथि नै अवहेलना दर्ता गरिएको छ । यस्तै बागमती प्रदेश सभापति अच्युतम लामिछानेमाथि पनि मुद्दा दायर भएको छ । मुद्दाको प्रारम्भिक सुनुवाइ मङ्सिर ३ गतेका लागि तोकिएको छ ।

लामिछानेसँग मागियो सत्तरी वटा प्रश्नको जवाफ

सहकारी बचत अपचलन आरोपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान तीन दिनमा सकिएको छ । मङ्गलबार रुपन्देही ल्याइएका लामिछानेलाई तीन दिनसम्म लगातार बयान लिइएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय भैरहवामा लामिछानेलाई पहिलो दिन मौखिक प्रश्न सोधिएको थियो भने दोस्रो र तेस्रो दिन ७० भन्दा बढी लिखित प्रश्नको जवाफ मागिएको थियो । त्यस क्रममा लामिछानेले सहकारी ठगीमा संलग्नता ठाडै अस्वीकार गरेको अनुसन्धानमा संलग्न अधिकारीको दाबी छ ।

अनुसन्धानमा संलग्न रहेका एक अधिकृतका अनुसार उहाँले सोधिएका सबै प्रश्नमा आफू कतै पनि सहभागी नभएको दाबी गर्नुभएको छ । हरेक प्रश्नको सहजै जवाफ दिएको र सबै प्रश्नको जवाफमा आफ्नो संलग्नता अस्वीकार गरेको तथा सहकारी रकमका विषयमा जिबी राई र सागर केसीलाई सोध्नुस् भन्दै पन्छिएको ती अधिकृतले बताए ।

२६ दिनदेखि सहकारी ठगी र सङ्गठित अपराध कसुरमा अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई मङ्गलबार रुपन्देही ल्याइएको थियो । बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रुपियाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । जोशी र लामिछानेसहित जिबी राई, भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिम सहकारीबाट १४ करोड २९ लाख ३६ हजार रुपियाँ रकम पठाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।