नेपाल फेष्टिभल सिड्नी २०२४ मा पहिलो पटक न्यूसाउथवेल्सका प्रिमियर सहभागी हुँदै !

नेपाल फेष्टिभल सिड्नी २०२४ मा पहिलो पटक न्यूसाउथवेल्सका प्रिमियर सहभागी हुँदै !


सिड्नी, अष्ट्रेलिया ।

सिड्नीमा आयोजना हुने नेपाल फेष्टिभल २०२४ मा प्रमुख अतिथिको रुपमा न्यूसाउथवेल्स राज्यका प्रिमियर क्रिस मिन्स सहभागी हुने भएका छन् । नेपाल फेष्टिभल आयोजनाको ईतिहासमै पहिलो पटक राज्यका प्रिमियर अतिथिको रुपमा सहभागी हुन लागेका हुन् । एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलका अनुसार प्रिमियर मिन्ससँगै न्यूसाउथवेल्सका उच्चपदस्थ राजनीतिक नेतृत्व पनि नेपाल फेष्टिभलमा सहभागी हुने तय भएको छ ।

आगामी नोभेम्बर २३ तारिख शनिबारका दिनभर आयोजना हुने नेपाल फेष्टिभलको तयारी यतिबेला जोडतोडले चलिरहेको छ । महोत्सवमा रहने नेपाल हाउसमा यस पटक नेपालबाट ९ वटा विभिन्न व्यवसायिक संघसंस्थाले नेपालको परम्परागत मूर्तिकला, काष्ठकला, चित्रकला लगायतका सामग्री समेत प्रदर्शनमा राख्नेछन् ।

ग्रेस ईन्टरनेशनल एजुकेशन एण्ड माईग्रेसन मुख्य प्रायोजक रहेको नेपाल फेष्टिभलमा विगतमा झैं खानाका स्टलहरु, नेपालमा बनेका विभिन्न सामग्रीका स्टलका साथै सेवा र सूचनाका स्टल पनि राखिने भएको छ ।

यस पटकको नेपाल फेष्टिभलमा दि एक्स व्याण्डका साथै गायक हेमन्त शर्मा र गायिका आस्था राउतले पनि आफ्नो सांगीतिक प्रस्तुति दिनेछन् । ३० हजारभन्दा बढी दर्शकले सहभागिता जनाउने अपेक्षा गरिएको नेपाल फेष्टिभलका दिन शनिबार विहान कल्चरल परेडको पनि आयोजना हुनेछ ।

नेपाली खाना, संस्कृति र परम्पराहरुको प्रदर्शनी र प्रबद्र्धन गर्ने मुख्य उद्देश्यका साथ एनआरएन अष्ट्रेलियाले हरेक दुई वर्षमा यहाँका आठवटै राज्यहरुमा नेपाल फेष्टिभल गर्दै आएको छ । यसलाई नेपाली दूतावास, पर्यटन बोर्ड, वाणिज्यदूतको कार्यालय, मल्टिकल्चरल न्यूसाउथवेल्स लगायतको साथ रहनेछ । सिड्नीको प्रसिद्ध डार्लिङ हार्बरमा रहेको तुम्बालोङ पार्कमा हुने फेष्टिभल ६ वर्षपछि फेरि यहीँ हुन लागेको हो । विगत दुईवटा नेपाल फेष्टिभल स्थान उपलब्ध नभएका कारण अन्यत्र आयोजना गरिएको थियो ।