नेपाल सम्वत ११४५ नयाँ वर्षको अवसरमा नेवा गुथी मेलबर्न स्थापना हुँदै !

नेपाल सम्वत ११४५ नयाँ वर्षको अवसरमा नेवा गुथी मेलबर्न स्थापना हुँदै !



मेलबर्न, अष्ट्रेलिया । नेपाल सम्वत नयाँ वर्ष ११४५ को स्वागत मेलबर्नमा रहेका नेवार समूदायले एकठाउँ भेला भएर शुभकामना साटासाट गरेका छन् । नेवा गुथी मेलबर्नको स्थापना गर्ने उद्देश्यका साथ भएको भेटघाटमा नेवार संस्कृति, झल्कने पहिरनमा उनीहरु सजिएका थिए । यसका साथै विभिन्न बाजागाजाका साथ परम्परागत मूर्तिकला र भाँडावर्तनको समेत प्रदर्शनी गरिएको थियो ।
कार्यक्रममा नेवा गुथी मेलबर्न स्थापनाका लागि प्रस्ताव गरिएको र सर्वसम्मतले स्वीकृत भएको जानकारी आयोजकमध्येका एक माया सुवालले केविसीखबरलाई दिए । उनले भने, “हामीले विधानलाई भेलामा प्रस्तुत गरेका थियौं । अब दर्ताको अन्य प्रक्रियाहरु छिट्टै पूरा गर्नेछौं ।”

नोभेम्बर १० तारिख आईतबार गरिएको कार्यक्रमको सुरुवात कान्छी श्रेष्ठ र सानुशाक्यले पानसमा दिप प्रज्वलन गरी गरेका थिए । उक्त जमघटमा विना महर्जन, सन्जिता महर्जन, प्रियंका श्रेष्ठ र अपेक्षा श्रेष्ठले परम्परागत धिमेबाजामा धुन प्रस्तुत गरेका थिए भने अनसुना महर्जनले कुमारी नाच प्रस्तुत गरेकी थिइन् ।

यस्तै सुरेनमान शाक्य, शैशव श्रेष्ठ र रजन चित्रकारले सांगीतिक प्रस्तुत दिएका थिए । यस्तै कार्यक्रममा प्रविशा श्रेष्ठ, शमसारा श्रेष्ठ, श्रृष्टि श्रेष्ठ र अन्सुमान महर्जनले किवोर्ड, गिटार लगायतका बाजाका साथ आफ्नो सांगीतिक प्रस्तुत दिएका थिए ।

सुवालका अनुसार सम्यबजीका साथै लाखे नाचबाट कार्यक्रमको समापन गरिएको थियो । कार्यक्रममा सहभागीहरुले आफ्नो कला, संस्कृति र परम्परालाई जीवन्त राख्न नेवा गुठी मेलबर्न स्थापना गर्न लागिएकोमा खुशी व्यक्त गरेका थिए ।