ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा निर्माण गर्न लागिएको केबुलकार परियोजनाविरुद्ध रहेको पक्षले परियोजना खारेज गर्नुपर्ने माग गरेको छ। शनिबार परियोजनाविरुद्ध पाथीभरा क्षेत्रको काफ्लेपाटीमा विरोधमा रहेको पक्षले कोणसभा गर्दै केबुलकार खारेज गर्नुपर्ने माग गरेको हो।
काफ्लेपाटी क्षेत्रमा प्रदर्शन र कोणसभा गर्दै परियोजना विरोधी पक्षले कुनै पनि हालतमा केबुलकार बन्न नदिने दोहो¥याउँदै खारेज गर्न माग गरेको छ। परियोजनाको विरोध गर्दै आएको मुक्कुमलुङ संयुक्त सङ्घर्ष समितिका संयोजक लिङ्खिमले कोणसभालाई सम्बोधन गर्दै केबुलकार तत्काल खारेज गर्नुपर्ने बताए ।
लिङ्खिमले शुक्रबार काफ्लेपाटी क्षेत्रमा भएको झडपका क्रममा धारिलो हतियार खुकुरी र ढुङ्गा प्रहार गरी मजदुरसहित आन्दोलनकर्मीलाई घाइते बनाउनेमाथि कानुनी कारबाहीको माग समेत गरे । उनले सामाजिक अशान्ति फैलाउने र आतङ्कित बनाउनेगरी भएको झडपको नेतृत्व गर्ने समेतलाई कानुनी दायरामा ल्याउनुपर्ने प्रशासनसँग माग गरेका थिए ।
यस्तै पहिचानको लागि युवाफोर्सका संयोजक नवीन पोमुले संवेदनशील विषयमा प्रशासन मुकदर्शन बन्नु नहुने बताए । संवेदनशील विषय र सङ्घर्षरत पक्षको मागलाई सरकारले बेवास्ता गरे कडा आन्दोलन र प्रतिकारमा उत्रन बाध्य हुने उनको चेतावनी थियो । कोणसभालाई पहिचानवादी महिला नेतृ रीता मादेनले पनि सम्बोधन गरेकी थिइन् ।
सम्बोधनका क्रममा वक्ताहरुले केबुलकार खारेजसँगै निर्माणको कामका लागि पाथीभरा क्षेत्र पुर्याइएको एक्साभेटरसहितका निर्माण सामग्री तत्काल हटाउन पनि निर्माण कम्पनी र परियोजना पक्षलाई आग्रह गरेका छन्। शुक्रबार केबुलकार परियोजनाको शिलान्यास गर्ने क्रममा परियोजनाको पक्ष र विपक्षबिच ढुङ्गा हानाहान भएको थियो। झडपका क्रममा दुवै पक्षका र प्रहरीसमेत गरी छ जना घाइते भएका थिए।
यता केबुलकार परियोजनाको निर्माण कार्यको जिम्मा पाएको निर्माण कम्पनी हिमालयन कन्स्ट्रकसन प्रालिका सञ्चालक इन्द्र केदेमले शुक्रबार परियोजनाको शिलान्यास भएको र अब कामलाई निरन्तर अघि बढाउने बताएका छन् । निर्माण व्यवसायी केदेमले विवादमा नगई समन्वय र सम्वाद गर्दै कामलाई निरन्तरता दिने बताएका थिए ।
पाथीभरा क्षेत्रमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षसमेत रहनुभएका चन्द्र ढकाल नेतृत्वको पाथीभरा दर्शन केबुलकार प्रालिले केबुलकार निर्माण गर्न लागेको हो। केबुलकार निर्माण गरिने भएपछि मुक्कुमलुङ संयुक्त सङ्घर्ष समिति र केबुलकार खारेजी सङ्घर्ष समितिले विरोध गर्दै आएको छ।
प्रतिक्रिया