मेलबर्न, अष्ट्रेलिया ।
गएको साता अष्ट्रेलियामा दुई नेपालीको निधन भएको छ । एकजनाको सडक दुर्घटनामा र अर्को एक नेपालीको आगलागीमा परेर ज्यान गएको हो । मेलबर्नको उत्तरी क्षेत्रमा अवस्थित सेन्ट अल्बान्स क्षेत्रमा बसोबास गर्दै आएका काठमाडौं गाम्चाका विशाल केसीको आगलागीमा परी निधन भएको हो । केसी गएको १० वर्षदेखि अष्ट्रेलियामा थिए ।
अध्ययनका लागि आएका उनी पछिल्लो समय साथीभाईसँग सेन्ट अल्बान्समा बस्दै आएका थिए । तिहारको टिकाको दिन राति आगलागी भएको थियो । आगलागी कसरी सुरु भएको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । छिमेकीहरुले हुरीका कारण आगो फैलिन मद्दत गरेको बताएका छन् । अग्नी नियन्त्रकहरुले आगलागी नियन्त्रण गर्न ५० मिनेट लागेको थियो भने यस क्रममा केसीको ज्यान गएको थियो । गैरआवासीय नेपाली संघ भिक्टोरियाले आगलागीभएको घरमा नै भाडामा बसोबास गर्ने अन्य विद्यार्थीहरुलाई आवासको व्यवस्था मिलाउँदैछ ।
एक अर्को घटनामा भिक्टोरियाको बालाराटमा बसोबास गर्दै आएका निशान्त सिंह गढतोडाको सडक दुर्घटनामा निधन भएको हो । उनी चढेको कारलाई अर्को कारले ठक्कर दिँदा सडकभन्दा तल खसेको कार रुखमा ठोक्किएर दुर्घटना भएको थियो । उनलाई तत्कालै एयर एम्बुलेन्स मार्फत नजिकैको अस्पतालमा लगिएको भएपनि डाक्टरहरुले केही समयपछि मृत घोषित गरेका थिए । १ नोभेम्बर शुक्रबार दिउँसो २ बजेति स्थानीय गोलबर्न भ्याली हाईवेमा दुर्घटना भएको थियो । उनी काठमाडौंको चावहिलका बासिन्दा हुन् भने सिभिल ईन्जिनियरका रुपमा एक अष्ट्रेलियन कम्पनीमा कार्यरत थिए ।
प्रहरीले दुर्घटनामा संलग्न अर्को कारका चालकलाई पक्राउ गरेर अनुसन्धान गर्दा निजको साथबाट गाँजा लगायतका पदार्थ भेटिएको थियो । प्रहरीले निज विरुद्ध लापर्वाहीपूर्वक गाडी चलाएर ज्यानै लिएको, दुर्घटनापछि घटनास्थलबाट भागेको, सहायता नगरेको, प्रमाण नष्ट गर्ने प्रयास गरेको र गाँजा सेवन गरी गाडी चलाएको अभियोग लगाएको छ ।
दुर्घटनास्थल भिक्टोरियाको सिमोर क्षेत्र नजिक पर्दछ । हाल उनको शव पोष्टमार्टमका लागि लगिएको छ भने प्रक्रिया पुगेपछि आफन्तलाई जिम्मा लगाउने प्रहरीको तयारी छ ।
भिक्टोरियाका लागि नेपाली वाणिज्यदुत निराजन गौलीले दुबै घटनामा परेका नेपालीहरुको आफन्त सम्पर्कमा आइसकेको र शुक्रबारभित्र केसीको शवलाई नेपाल पठाउने तयारी छ ।
प्रतिक्रिया