साफ महिला च्याम्पियनशीप फुटबल, आज नेपाल र बंगलादेश उपाधिका लागि भिड्दै

साफ महिला च्याम्पियनशीप फुटबल, आज नेपाल र बंगलादेश उपाधिका लागि भिड्दै



काठमाडौँ । आज बुधबार नेपाल र बंगलादेशबीच उपाधिका लािग भिडन्त हुँदैछ । साफ महिला च्याम्पियनशील फुटबलको फाईनल खेलका लागि टिकट बिक्री खुलिसकेको छ । यसअघि पाँच पटक साफ महिला च्याम्पियनसिपको फाइनलमा स्थान बनाए पनि नेपाल उपाधिविहीन बन्दै आएको छ । सन् २०१० देखि सुरु भएको यस च्याम्पियनसिपको सातौँ संस्करण चल्दै गर्दा नेपाल सन् २०१६ मा भारतमा भएको चौथो संस्करणबाहेक सबैमा फाइनलमा पुगेको छ ।

सनसनीपूर्ण सेमिफाइनलमा यस पटक भारतलाई टाइब्रेकरमा ४–२ गोलले पन्छाउँदै फाइनलमा पुगेको नेपाललाई उपाधि जित्न बङ्गलादेश पन्छाउने चुनौती छ । पाँच पटकको च्याम्पियन भारतलाई सेमिफाइनलमा हराएको नेपालले बुधबार साँझ ६स्३० बजे फाइनलमा पुनः साबिक विजेता बङ्गलादेशको सामना गर्दैछ ।

घरेलु मैदानमै भएको अघिल्लो संस्करणको फाइनलमा नेपाल बङ्गलादेशसँग ३–१ गोलले पराजित भएको थियो । नेपाललाई फाइनलमा बङ्गलादेशसँग मिठो बदला लिने मौका छ । नेपाली टिम कप्तान एन्जिला तुम्बापो सुब्बाले विगतको संस्करणमा उपविजेता बनेको तितो क्षणलाई बिर्सेर यस पटक उपाधि जित्ने बताइन् ।

‘‘हामीले राम्रो फुटबल खेलिरहेका छौँ । बङ्गलादेश पनि धेरै राम्रो छ । तर हामी बङ्गलादेशलाई हराउनका लागि खेल्नेछौँ । टोलीमा सबै खेलाडीको मनोबल उच्च छ । यस पटक टिम भावना पनि राम्रो छ । ‘हामी सक्छौँ, हामी जित्छौँ’ भन्ने नारालाई स्थापित गर्नेछौँ,’’ फाइनल खेलअघि आयोजित प्रि–म्याच कन्फरेन्समा सुब्बाले भनेकी छिन् ।

उनले नेपाली महिला फुटबलमा अहिलेको जस्तो राम्रो खेलाडी पाउन अझै आठ दश वर्ष लाग्ने भएकोले यस पटक उपाधि नजिते समयले नपर्खने बताइन् । ‘‘बङ्गलादेशको खेल हेर्दा हामीलाई सजिलो छैन । नेपाली समर्थकले महिला फुटबललाई गरेको माया हामी मर्न दिँदैनौ । पुरानो गल्ती गर्ने छैनौँ । भारतविरुद्ध १० खेलाडीमा पनि सबैले राम्रो खेल्यौँ । विगत भुलेर आफ्नो पोजिसनमा सबैले ध्यान दिएर खेल्नेछौँ,’’ सुब्बाको भनाई छ ।

यसैगरी नेपालका प्रशिक्षक राजेन्द्र तामाङले खेलाडीले व्यक्तिगत रूपमा जितको भावना राखेर खेलेमा उपाधि टाढा नभएको बताउँछन् । ‘‘बङ्गलादेश प्राविधिक रूपमा धेरै राम्रो छ । साबिक विजेता भएकोले पनि उसले सकेको मिहिनेत गर्नेछ । तर हाम्रो खेलाडी र प्रदर्शन पनि कमजोर छैन । मैदान र खेल्ने बलको साइज उही हो । पाएको मौकालाई सदुपयोग गर्ने र आफ्नो पोजिसनमा राम्रो खेल्न खेलाडीलाई अनुरोध छ ।

बङ्गलादेशका प्रशिक्षक पिटर बटलरले फाइनल खेल सोचेभन्दा प्रतिस्पर्धात्मक हुने बताएका छन् । ‘‘साबिक विजेताको रूपमा हामीलाई चुनौती छ । घरेलु टोलीलाई पनि कम चुनौती छैन । फाइनल खेल रोचक हुनेछ ।